घोर्ले गाउँमा विद्युत् विस्तार, स्थानीयले मनाए तिहारमा खुसीयाली

घोर्ले गाउँमा विद्युत् विस्तार, स्थानीयले मनाए तिहारमा खुसीयाली

केन्द्रबिन्दु
0
Shares

खोटाङको जन्तेढुंगा गाउँपालिका-५ चिसापानीको घोर्लेमा विद्युत‍्को राष्ट्रिय प्रशारणलाइन विस्तार गरिएको छ। सुन्तला खेतीका लागि चर्चित मानिने घोर्लेमा गाउँपालिकाले विनियोजन गरेको २८ लाख र उपभोक्ताको श्रमदानबाट नेपाल विद्युत् प्राधिकरणको गाईघाट–दिक्तेल प्रशारणलाइन अन्तर्गतको विद्युत् विस्तार गरिएको हो। 

गाउँपालिका अध्यक्ष शंखरबहादुर राईले घोर्लेमा बत्तीको स्विच अन परेर विद्युत् उद्घाटन गरेका छन्। गाउँका ३५ घरमा राष्ट्रिय प्रशारणलाइनको विद्युत‍्बाट बत्ती बलेपछि घोर्लेका स्थानीयले खुसीयाली मनाएका छन्। 

सुरुङ्खेले भन्ने ठाउँबाट पोल र तार टाँग्दै घोर्लेमा विद्युत् पुर्‍याइएको हो। गाउँमा विद्युत् विस्तारका लागि स्थानीयले पोल र तार ओसार्ने, शाखा लाइनको पोल गाड्ने लगायतका काममा श्रमदान गरेका थिए। भौगोलिक रूपमा कोल्टे ठाउँ भएकाले घामले नभेट्दा सोलारसमेत प्रभावकारी बन्न नसकिरहेको अवस्थामा विद्युत् विस्तार भएपछि युवामा उत्साह जगाएको स्थानीय शिक्षक जीवन राईले बताए। 

‘गाउँमा स्थायीरुपमा उज्यालो बालिएको छ । विद्युतीय उपकरण, इन्टरनेट र सूचनामा पहुँच वृद्धि भएको छ,’ शिक्षक राईले भने, ‘युवामा विद्युत‍्बाट चल्ने नयाँ व्यवसाय सुरु गर्ने, कृषि पेसालाई आधुनिकीकरण गर्ने सोच पलाएको छ । ऊर्जा मिलेको छ ।’ घोर्लेबाट वार्षिक करोडको‍ सुन्तला निर्यात हुने गरेको छ। घोर्लेलाई खोटाङको सुन्तलाको राजधानी मान्ने गरिन्छ। 

६ वडा रहेको जन्तेढुंगा गाउँपालिकामा ०७६ सालदेखि विद्युत् बिस्तारको काम अघि बढेको हो। गाउँपालिकाको केन्द्रकारुपमा रहेको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीबजारस्थित बिपी चोकमा १३ वैशाख २०७६ मा प्रतिनिधिसभाका सांसद विशाल भट्टराईले स्विच अन गरेर केन्द्रीय विद्युत् प्रशारणलाइन उद्घाटन गरेका थिए। 

जन्तेढुंगा गाउँपालिकाको चिसापानी क्षेत्रमा विद्युत् विस्तारका लागि तत्कालीन जिल्ला विकास समितिले आर्थिक वर्ष २०७३/०७४ मा ५९ वटा पोल र तार उपलब्ध गराएको योजनालाई गाउँपालिकाको ८५ लाख बजेट खर्च गरेर सफल बनाएको थियो। गाउँपालिकाका अन्य वडामा पनि क्रमशः विद्युत् विस्तारको काम भइरहेको छ। 

Logo