ललितपुरको गोदावरी-१० बज्रवाराहीमा रहेको धार्मिक वन अतिक्रमण गरी सडक विस्तार गरेको भन्दै स्थानीय युवाले हस्ताक्षर संकलन गरेर गोदावरी नगरपालिकामा बुझाएका छन्।
गोदावरी नगरपालिकाले नवनिर्मित आफ्नो भवन अगाडि १५ मिटर सडक विस्तारका लागि सडकको केन्द्र भागबाट साढे सात मिटर सडक विस्तार गर्ने क्रममा झण्डै २ मिटरभन्दा धेरै वन क्षेत्रको जमिन मासेर सडक विस्तारका लागि डोजर चलाएपछि सामाजिक सञ्जालमार्फत स्थानीय बासिन्दाले विरोध गरेका थिए।
बज्रबाराही वन मासेर सडक बनाउनै पर्ने भए सल्लाह गरेर मात्रै सडक विस्तार गर्नु पर्ने बज्रवाराही मन्दिरका पुजारी राजु पुजारीले बताए। उनले भने, ‘बहस गरे मात्रै सडक विस्तार गर्न हुने नहुने निर्णय गर्न सकिन्थ्यो । यहाँ त हामीसँग सल्लाह नै भएन।’
स्थानीय अनिल महर्जनले बज्रवाराही वन संरक्षण गर्न बसेको ज्योतिदय संघ आफैँले जंगल मास्न लागेको भन्दै आक्रोस पोखे। उनले भने, ‘हामी स्थानीय बासिन्दाले बज्रवाराही जंगल संरक्षण गर्ने सर्तमा मात्रै ज्योतिदय संघको व्यवस्थापनलाई स्वीकार गरेका हौं। वन मास्ने हो भने हामी मान्दैनौं।’
ज्योतिदय संघका अध्यक्ष नारायण देशारका जिल्ला वन कार्यालय ललितपुरको मौखिक सहमतिमै वनको केही जमिन लिएर सडक विस्तार गर्न लागेको बताए। उनले भने, 'हामी बनको रुख मास्दैनौं। त्यहाँ रुखलाई नै संरक्षण गरेर फुटपाथ बनाउने हो।’
दुबैतर्फ सरकारी जमिन रहेकाले सडक मापदण्डमा परेको ठाउँलाई बाटो बनाउन उपभोग गर्न लागेको उनले बताए। देशारका अनुसार सरकारी जग्गा सरकारको इच्छा अनुसार नै प्रयोग गर्न लागिएको हो। सडक मापदण्ड अनुसार नीजि जग्गा लिन हुने सरकारी चाहिँ लिन नहुने भन्ने कानुनमा नभएको उनको जिकिर छ।
२०५२ देखि ज्योतिदय संघले बज्रवाराही वन संरक्षण गर्दै आएको छ। बज्रवाराही जंगलमा पिकनिक स्पट र मोटरसाइकल पार्किङलगायतको आन्दानीबाट सरसफाइ लगायतको काम गरिरहेको देशारले बताए। व्यक्तिगत स्वार्थका लागि सडक बनाउन नलागिएको उनले बताए।
ज्योतिदय संघका कोषध्यक्ष राज देशारले सडक विस्तार गर्दा वनको जग्गा डेढ मिटर पर्ने र त्यो ठाँउमा फुटपाथ बनाइने बताए। उनले भने,‘फुटपाथमै हामी रुख संरक्षण गछौं। काट्दैनौं।’
सडक विस्तारका क्रममा गोदावरी नगरपालिकाले बनाएको उपभोक्ता समितिका अध्यक्ष रमेश देशारले जिल्ला वन कार्यालयको सहमतिमै वन क्षेत्र मासेर बाटो बन्न लागेको बताए।
लगभग ८५ लाख लागतमा झण्डै १ सय मिटर यो बाटो विस्तार र ढलान गर्न लागिएको हो।





























प्रतिक्रिया