छोराछोरी खोज्दै आमा काठमाडौँमा

छोराछोरी खोज्दै आमा काठमाडौँमा

केन्द्रबिन्दु
0
Shares

सायल गाउँपालिका–२ ग्वाँनी गाउँकी ७० वर्षीया गङ्गादेवी सिंह आफ्ना एक छोरा र छोरीको खोजी गरिदिन काठमाडौँ आएकी छिन् । विसं २०५७ मा नाबालक छोरा नरेशबहादुर तथा छोरी दुर्गाकुमारीलाई बालमन्दिरमा पढाउने भन्दै केआइसिंह गाउँपालिका तथा हाल गोदावरी नगरपालिका–८ जमुनाझाडी बस्ने भान्जी नाता पर्ने जगत्रादेवी सिंहले लगेकी थिइन् ।  

गङ्गादेवीका ती नाबालक छोराछोरीलाई नेपाल बाल सङ्गठन केन्द्रीय कार्यालय बालमन्दिर नक्सालमा भर्ना गरेको र पछि ती बालबालिका नेपाल बाल सङ्गठनले दुई वर्ष राखी छोरी दुर्गालाई विसं २०५९ मा स्पेनका नागरिक मार्ता कम्पीलिटको धर्मपुत्रीका रुपमा तथा छोरा नरेशलाई विसं २०५८ मा इटालीका नागरिक त्रिभिरी फरेन्स्को र बुज्जेरो अन्ना इम्लियालाई धर्मपुत्रका रुपमा पठाएको नेपाल बाल सङ्गठनको रेकर्डमा देखिएको छ । 

ती बालबालिका हालसम्म पनि आमाको फोन सम्पर्कमा नआएपछि ७० वर्षीया गङ्गादेवी आफ्ना छोराछोरीको अवस्था बुझिदिन अहिले काठमाडौँ आएकी छिन् । । घरमा अन्य परिवारका सदस्य नभएको र छोराछोरीको पनि अवस्था वर्षौंसम्म अज्ञात रहेका कारण उनीहरुको अवस्था बुझ्नका लागि आफू काठमाडौँ आएको उनी बताउछिन् । 

गङ्गादेवी भन्छिन्  “निःशुल्क पढाउँछौँ भनेर छोराछोरी घरबाट ल्याए, अहिले उनीहरु काँ छन्, के गर्दैछन्, कुनै अत्तोपत्तो छैन, म मर्ने अवस्थामा पुगी सके, मेरा छोराछोरीसँग मेरो भेट गराइदिनु पर्यो ।” उनका छोराछोरी बाल सङ्गठनको जिम्मा दिने आफ्नै भान्जी नाता पर्ने जगत्रादेवीले ती बालबालिका अहिले कहाँ छन् आफूलाई पनि जानकारी नभएको बताउँदै आएको पीडित आमाको गुनासो छ । 

 
नरेश तथा दुर्गाकुमारीलाई पढाउने जिम्मा लिई पछि धर्म सन्तानका रुपमा स्पेन र इटालीका नागरिकलाई जिम्मा दिने नेपाल बाल सङ्गठन केन्द्रीय कार्यालय बालमन्दिर नक्सालमा समेत ती बालबालिकाका बारेमा थप कुनै खबर आएको रेकर्ड छैन । सो सङ्गठनका अध्यक्ष विद्या न्यौपानेले २१ वर्ष अगाडि ती बालबालिका बाल सङ्गठनमा भर्ना गरेको तथा उनीहरु स्पेन र इटालीमा पठाइएको भन्ने रेकर्ड मात्रै आफू कहाँ भएको बताईन् । 
अन्य कुनै कागजपत्र नभएपनि बालबालिका खोजी गर्नका लागि पहल गर्ने न्यौपाने बताउछिन् । 

हालसम्म अवस्था अज्ञात रहेका ती बालबालिकाको खोजीका लागि महिला तथा बालबालिका मन्त्रालयबाट पहल गरे चाँडो पत्ता लाग्ने अध्यक्ष न्यौपानेले जानकारी दिईन् । वर्षौंदेखि अवस्था अज्ञात रहेका आफ्ना छोराछोरीको खोजीका लागि आमा गङ्गादेवीले विभिन्न राजनीतिक दलका नेता, नागरिक समाज, अधिकारकर्मीलगायत सबैमा आग्रह गरेकी छिन् । दुई छोराछोरीको अवस्था वर्षौंदेखि अज्ञात रहेपछि अहिले गङ्गादेवी साहराविहीन भएकी छिन् । 

Skip This
Skip This
Logo