बंगालमा ‘जवाद’ सामुन्द्रिक आँधी, नेपालमा भाेलिबाट अर्काे माैसमी प्रणाली

बंगालमा ‘जवाद’ सामुन्द्रिक आँधी, नेपालमा भाेलिबाट अर्काे माैसमी प्रणाली

केन्द्रबिन्दु
0
Shares

बंगालको खाडीको मध्यपश्चिम भूभागमा ‘जवाद’ नामक सामुन्द्रिक चक्रवात बनेको छ। उक्त चक्रवात आज शनिबार बिहान भारतको ओडिसाको तटीय क्षेत्रमा पुग्ने र तत्पश्चात उत्तर पूर्व तर्फ सर्ने देखिएको छ।

उक्त चक्रवातका कारण नेपालमा खासै ठूलो प्रभाव पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। विशेष बुलेटिन जारी गर्दै महाशाखाले चक्रवातको अप्रत्यक्ष प्रभावले शनिबार रातिबाट प्रदेश १, २ र बागमतीमा आंशिकदेखि सामान्य बदली रहने जनाएकाे छ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको र एक(दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ। 

सोमबारबाट क्रमशः यो प्रणालीको प्रभाव नेपालमा कम हुँदै जाने देखिन्छ।

‘आइतबारबाट पुनः अर्को पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव देशमा पर्न सक्ने सम्भावना देखिएको छ,’ महाशाखाले भनेको छ, ‘सो पश्चिमी न्यून चापिय प्रणालीको प्रभावले आइतबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा र सो प्रदेशहरुको उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ।’

सोमबार सो प्रणालीले देशभर प्रभाव पारी केही स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

आइतबार राति र सोमबार दिउँसो सो प्रणालीका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको छ। सो प्रणाली सोमबार रातिबाट कमजोर बन्दै जानेछ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

आज
दिउँसो : प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति: प्रदेश १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १ को पहाडी भू-भागको एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

आइतबार
दिउँसो : सुदूर पश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको साथै सुदूर पश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति: सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानहरू तथा लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको केही स्थानहरू तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेको छ।

सोमबार
दिउँसो : सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली, प्रदेश न १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, सुदूर पश्चिम, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरूका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राति: कर्णाली प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र प्रदेश न १, बागमती, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै, सुदूरपश्चिम, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
आज प्रदेश १ को पहाडी भू-भागको एक-दुई स्थानहरूमा हल्का वर्षा हुनुको साथै प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन अनुरोध छ। तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिनु हुनसमेत अनुरोध छ।

Skip This
Skip This
Logo