वरिष्ठ गीतकार, सङ्गीतकार तथा गायक गणेश रसिकले श्रीमतीको स्मृतिमा पुरस्कार कोष स्थापनाको घोषणा गरेका छन् । आफ्नी श्रीमती निरा शेरचन राईको ४५ दिनको पुण्य तिथिका अवसरमा उनले सोे घोषणा गरेका हुन् ।
उनको सम्झनामा प्रदेश नं १ मा क्रियाशील पत्रकारलाई प्रदान गर्ने गरी रु २० हजार राशिको पुरस्कार घोषणा गरेको उनले बताए । रेडियो फिक्कल इलामका सञ्चालक समिति अध्यक्षसमेत रहनुभएका रसिक हाल जन्मथलो भोजपुरमा छन् ।
समाजमा योगदान दिने पत्रकारहरु समाज परिवर्तनमा खटिहिरहने भए पनि खासै मूल्याङ्कन नहुने गरेकाप्रति आफू चिन्तित रहेको जनाउँदै यस्तो पुरस्कार वितरण गरिएको उनले बताए । समाजका जो कोही व्यक्तिलाई सम्मान गर्नुपर्छ भन्ने धारणा रहेकी श्रीमतीको मृत्यु भएपछि उनकै सम्झनामा पत्रकारिता जगतमा योगदान पुर्याउने मध्येबाट एकजनालाई हरेक वर्ष सम्मानसहित पुरस्कृत गरिने रसिक परिवारको भनाइ छ ।
समाजमा असल नियतका साथ योगदान दिने व्यक्तिमा प्रोत्साहन हुने ठानेर आफूहरू सो पुरस्कार स्थापना गर्ने मोडमा पुगेको छोरी निरजा राई प्रधानले बताइन् । नेपाल नाट्य तथा सङ्गीत प्रज्ञाप्रतिष्ठानका पूर्वसदस्यसचिव एवं रेडियो फिक्कलका अध्यक्षसमेत रहेका उनले राम्रो काम गर्नेलाई सधैँ हौसला प्रदान गर्नुपर्ने तथा सोही अनुसार आफूहरु लागिपरेको सुनाए ।
सो पुरस्कार हरेक वर्ष स्व. निरा शेरचनको निधन भएको दिन कात्तिक १० गते प्रदान गरिनेछ तर यस वर्ष भने रेडियो फिक्कलको वार्षिक उत्सवका अवसरमा आगामी पुुस १७ गते प्रदान गरिने जनाइएको छ । शेरचनको कोरोना सङ्क्रमणका कारण गत कात्तिक १० गते काठमाडौँमा निधन भएको थियो ।





























प्रतिक्रिया