दुई एयरलाइन्सबीचको विवादका कारण हुम्लामा रोकिएको खाद्यान्न ढुवानी सुरु

दुई एयरलाइन्सबीचको विवादका कारण हुम्लामा रोकिएको खाद्यान्न ढुवानी सुरु

केन्द्रबिन्दु
0
Shares

सडक सञ्जालले नछोएको हिमाली जिल्ला हुम्लाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको अनुदानको खाद्यान्न पाँच महिनापछि सिता एयरले ढुवानी थालेको छ।  

गत साउन महिनादेखि हुम्ला जिल्लामा खाद्यान्न ढुवानी र वितरण हुन रोकिएको भए पनि सोमबारबाट खाद्यान्न ढुवानी सुरु भएको हो। दुई एयरलाइन्स कम्पनीबीचको विवादका कारणले यसबीचमा केही मात्रामा मात्र खाद्यान्न हुम्ला ढुवानी भएको थियो। 

विमान कम्पनीहरुको विवादका कारण ढुवानी रोकिएपछि स्थानीयले साउन यता अनुदानको खाद्यान्न पाउन सकेका थिएनन्। 

समिट एयरले सीता एयरलाई मात्रै खाद्यान्न ढुवानीको अनुमति दिन नमिल्ने भन्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेपछि जिल्लामा अनुदानको खाद्यान्न ढुवानी रोकिएको थियो। उच्च अदालत पाटनले सीता एयरविरुद्ध परेको मुद्दा मंसिर १२ गते खारेज गरेपछि खाद्यान्न ढुवानीको बाटो खुलेको हो। 

यससँगै सीता एयरले सोमबार ५४ र मंगलबार ५२ क्वीन्टल खाद्यान्न ढुवानी गरेको खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेडका शाखा प्रमुख कृष्णप्रसाद अधिकारीले जानकारी दिए।  

अधिकारीका अनुसार नेपालगञ्जमा ४ हजार र सुर्खेतमा ६ हजार क्वीन्टल मध्ये विभिन्न समय गरेर नेपालगञ्जबाट २ सय ३२ र सुर्खेतबाट ३७ क्वीन्टल मात्र ढुवानी भएको छ।  

लामो समय खाद्यान्न वितरण हुन नसकेपछि जिल्लाका स्थानीय नागरिक तथा कर्मचारीहरु खाद्य सम्प्रभूताको अधिकारबाट बन्चित भएका छन्।

Logo