ठूलो परिमाणको लागूऔषधसहित सप्तरीमा ४ जना पक्राउ

ठूलो परिमाणको लागूऔषधसहित सप्तरीमा ४ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

सप्तरी प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीमा आइतबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो। 

राजविराजबाट काठमाडौं लैजाने तयारी गरेको अवस्थामा राखिएको बसको डिकीबाट लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।  

गोप्य सूचनाको आधारमा लागूऔषध बरामद र संलग्न चार जनालाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी अविनारायण काफ्लेले जानकारी दिए । 

टोलीले राजविराज नगरपालिका वडा नम्बर २ स्थित गुलाब ग्यारेज अगाडि बस पार्किङ गरी राखेको अवस्थामा चेक जाँच गर्दा उक्त परिमाणको लागूऔषध बरामद भएको काफ्लेले बताए। 

बसको डिकिमा बोराभित्र लागूऔषध भेटिएपछि दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर ८ बस्ने ३६ वर्षीय सञ्जय भुजेल र बोदेबरसाईन नगरपालिका वडा नम्बर ५ जाँजर बस्ने २१ वर्षीय अब्दुल रहेका प्रहरीले जनाएको छ।

प्रहरीले एउटा बसबाट नाईटभेट १० लेखिएको ७० पत्ता, २ हजार १ सय ट्यावलेट, एसपीएम पाइरोक्सभेन क्यापसु्ल २ सय ८८ थान र डाइलेक्स डीसी १०० एमएल ३ सय ९९ थान बोतल लागूऔषध बरामद गरेको छ।

पक्राउ परेका दुई जनालाई लागूऔषध सम्बन्धी कसुरमा जिल्ला अदालत सप्तरीबाट म्याद थप गरी अनुसन्धान भइरहेको एसपी काफ्लेले जानकारी दिए ।

यस्तै प्रहरीले सप्तरीबाटै खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सिरहाको लम्मीपुरपताईर गाउँपालिका वडा नम्बर ३ बस्ने २८ वर्षीय प्रमानन्द साह र सिरहाकै धनगढीमाई नगरपालिका वडा नम्बर ११ बस्ने २८ वर्षीय दिपेन्द्र कुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

उनीहरुलाई प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर १ स्थित पूर्व–पश्चिम लोकमार्ग स्थित कंकालिनी मन्दिर अगाडि चेक जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार रहेको दुबै जनाको साथबाट ब्राउन सुगर ८ ग्राम ५ सय५० मिलि ग्राम लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।

जिल्ला अदालत सप्तरीबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Logo