हिमपहिरो गएको ठाउँ पुगेर फर्कियो सेनाको टोली

हिमपहिरो गएको ठाउँ पुगेर फर्कियो सेनाको टोली

केन्द्रबिन्दु
0
Shares

एक जना बेपत्ता हुने गरि  धवलागिरी गाउँपालिका–१ गुर्जामा गएको हिमपहिरो प्रभावित क्षेत्रमा पुगेर बिहीबार नेपाली सेनाको टोली फर्किएको छ।

गुर्जाको सुकेलट्टेमा हिउँपहिराेमा पुरिएर ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएका थिए। बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धी छन्त्याल र लालबहादुर बिक हिउँमा फसेर अलपत्र परेका थिए। 

काठमाडौँबाट हेलिकप्टरमा सेनाको टोली गुर्जाको मानिस बेपत्ता र अलपत्र परेको ठाउँमा पुगेर फर्किएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले बताए। उनका अनुसार अलपत्र परेका तीन जनालाई खाद्यान्न र बेपत्ताको खोजीका लागि गुर्जाका चार जनालाई सुकेलट्टे पुर्याएर सेनाको टोली हेलिकप्टरमा फर्किएको हो। 

करिब चार, पाँच फिट तल पुरिएका रामबहादुरको हिउँ पग्लेपछि खोजी गर्ने त्यहाँ पुगेका स्थानीयले बताएका गुर्जाका वडाध्यक्ष झक छन्त्यालले बताए। गोठ भएको ठाउँमा रातिको समयमा हिउँपहिरो आएर क्षति भएको उनले जानकारी दिए। 

भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने गुर्जा जोड्ने पदमार्ग, विद्युत् र मोबाइल सेवा पनि अवरुद्ध भएको छ। छिमेकी लुलाङबाट गुर्जा पुग्न पुरै एक दिन हिँड्नु पर्छ। पैदल हिँडेर घटनास्थल पुग्न नसकिने भएपछि उद्दार र बेपत्ताको खोजीमा सेनाको हेलिकप्टर बोलाइएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए। 

Logo