प्रदेश २ : कोरोना संक्रमित बढ्न थालेपछि आवश्यक तयारी थाल्न मुख्यमन्त्री राउतको निर्देशन

प्रदेश २ : कोरोना संक्रमित बढ्न थालेपछि आवश्यक तयारी थाल्न मुख्यमन्त्री राउतको निर्देशन


छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै प्रदेश २ मा पनि बढ्न थालेपछि प्रदेश सरकारले महामारीलाई रोक्न आवश्यक तयारी थालेको छ। 

मुख्यमन्त्री लालबाबु राउतले सबै सरोकारवाला निकायसँग कोरोना महामारीलाई फैलन नदिन तथा कोरोना संक्रमितको लागि औषधि उपचारको विषयमा  छलफल गरेका छन्। कोरोनाको तेस्रो लहर चलेसँगै त्यसका लागि आवश्यक तयारी गर्न सबै निकायलाई मुख्यमन्त्री राउतले निर्देशन दिए। 

कोभिड १९ कै अलग प्रजाति ओमिक्रोन भेरियन्ट झन संक्रामक रहेकोले पनि त्यससँगको लडाइँमा स्वास्थ्यकर्मी, आमजनतालाई बलियो रुपमा लाग्नुपर्ने मुख्यमन्त्रीले बताए।

पहिलो र दोस्रो लहरको संक्रमणका बेला प्रदेश देखिएको शय्या र अक्सिजनको समस्या अब हुन नदिने गरि तयारी गर्न उनले निर्देशन दिए। प्रदेशभरिमा पाँच जिल्लाका अस्पतालमा अक्सिजन प्लान्ट जडान भइसकेको र बारा, रौतहट र सर्लाहीमा पनि अक्सिजन प्लान्ट जडानको प्रक्रिया प्रदेश सरकारले बढाइसकेको उनले बताए। 

त्यसैगरि,  प्रदेशमा १५ वटा अस्पतालमा ३४६ आइसोलेसन शय्या, १९२ एडीयू शय्या, ९१ आइसीयु शय्या, ६३ भेन्टिलेटर छन् भने एक हजार ९६५ अक्सिजन सिलिन्डर मौज्दात रहेको प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ।

यस्तै, प्रदेशभरि १२ वटा पीसीआर परीक्षण मेसिनबाट कोभिड-१९ जाँच हुँदै आएको जनाएको छ।

मंसिरको अन्तिम सातासम्म स्थिर देखिएको कोरोना भाइरस संक्रमणको ग्राफ पुस सुरु हुँदै प्रदेश २ मा बढ्दै गएको छ। बिहीबार मात्रै प्रदेश २ का आठ वटै जिल्ला गरेर ११२ जना कोरोना संक्रमित पाइएको छ।

यसअघिका कोरोना भाइरस संक्रमणबाट प्रदेश २ मा एक हजार ४० जनाले ज्यान गुमाइसकेका छन्  भने  ३७ हजार ७०६ जना निको भएर घर फर्किसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।   

संघीय सरकारले पुस मसान्तभित्रमा ६६ प्रतिशत नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने लक्ष्य लिएकामा पुस मसान्त भइसक्दा पनि  प्रदेश २ मा अझै ४० प्रतिशतले मात्र खोप लगाउन सकेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका  निर्देशक विजय झाले खोपको अभाव नरहेको र लगाउन आउने सर्वसाधारणको संख्या निकै कम रहेको बताए। रेडियो, पत्रपत्रिका लगायतबाट खोप सम्बन्धि जानकारी गराए पनि ग्रामिण क्षेत्रमा अझै सर्वसाधारणले खोप लगाउन नसकेको उनले बताए। 

Logo