मधेश प्रदेश सरकारले प्रदेशमा कार्यरत सञ्चारकर्मीको जीवन बीमा गर्ने

मधेश प्रदेश सरकारले प्रदेशमा कार्यरत सञ्चारकर्मीको जीवन बीमा गर्ने

केन्द्रबिन्दु
0
Shares

मधेश प्रदेश सरकारले प्रदेशमा कार्यरत रहेका सञ्चारकर्मीलाई स्वास्थ्य बीमा गर्ने भएको छ। मधेश प्रदेश आम सञ्चार प्राधिकरणले मंगलबार एक कार्यक्रमको आयोजना गरि प्रदेशका ८ वटै जिल्लामा कार्यरत रहेका सक्रिय पत्रकारको स्वास्थ्य बीमाका विषयमा विभिन्न सरोकारवाला निकायसँग छलफल गरेको छ। 

उक्त कार्यक्रममा मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले पत्रकारिता क्षेत्रमा कामकाज गर्ने पत्रकारको स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य बीमा कार्यक्रम ल्याउन लागेको बताए। मन्त्री साहले मधेश प्रदेशमा कार्यरत श्रमजीवी पत्रकारहरूको स्वास्थ्यका साथै जीवन बीमा गर्नका लागि आमसञ्चार प्राधिकरणले काम अगाडि बढाउनु पर्ने आवश्यकतामा जोड दिए। 

लोक कल्याणकारी विज्ञापन प्रदेशबाट प्रकाशित हुने सबै पत्रकारहरूलाई प्रदान गर्ने पक्षमा प्रदेश सरकारले काम गर्ने र त्यसको थालनी आफ्नै मन्त्रालयले गर्ने मन्त्री साहले बताए। 

कार्यक्रममा मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुवी कर्णले पत्रकारहरू धर्म, क्षेत्र तथा जातभन्दा माथि उठेर कलम चलाउने भएकाले पत्रकारको स्वास्थ्यको सुरक्षाका लागि जीवन बीमा कार्यक्रम महत्त्वपूर्ण रहेको बताए। 

मधेश प्रदेशले सञ्चारकर्मीहरूलाई जीवन बीमा सम्बन्धी ल्याउन लागेका कार्यक्रम सरहानीय रहेको प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीले बताए। विगत ३० वर्ष अगाडिदेखि आफूले पत्रकारहरूको जीवन बीमाको अवाज उठाउँदै आएकोमा आज त्यसको कार्यान्वयन  मधेश प्रदेश सरकारले गर्न लागेकोमा खुसी व्यक्त गरे। 

मधेश प्रदेशका आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतो, नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष राजेश कर्ण लगायतले मन्तव्य  राखेका थिए।

Logo