‘चुनावका बेला विभिन्न प्रलोभन देखाएर भोट माग्छन्, जितेपछि वास्ता गर्दैनन्’

‘चुनावका बेला विभिन्न प्रलोभन देखाएर भोट माग्छन्, जितेपछि वास्ता गर्दैनन्’

केन्द्रबिन्दु
0
Shares

छायानाथ रारा नगरपालिका–१ छत्यालकी ३७ वर्षीया जौमती नेपाली हरेक बिहान पाँच बजे नै सदरमुकाम गमगढी बजारमा पुग्छिन्। यसरी बिहानै गमगढी बजारतिर जानु उनको रहर होइन बाध्यता हो। उनलाई पनि अरु महिलालाई जस्तै बिहानभरि घरमा केटाकेटीसँग बस्ने रहर नभएको होइन। केटाकेटीलाई विद्यालय पठाएर उनीहरू आउने बाटो हेरेर बस्ने मन छ। तर, यी सबै रहर मारेर उनी झिसमिसेमै नाम्लो बोकेर गमगढीतिर लाग्छिन्। 

छायानाथ बजारमा उनी कवाडी संकलनको काम गर्छिन्। यहीँबाट आएको आम्दानीले उनको परिवार चलिरहेको छ। घरमा चलाउन आम्दानी गर्ने कोही नभएपछि उनी आफैं यो काममा लागेकी हुन्। तीन छोरा, तीन छोरीकी आमा जौमतीले यहीबाट आएको आम्दानीले आधा दर्जन छोराछोरी र श्रीमानको खर्च धानीरहेकी छिन् । 

कवाडी संकलन गर्ने सदरमुकाम गमगढीमा उनी एक्ली महिला हुन्। खासै आम्दानी नभए पनि बिहान बेलुका छाक टार्न पुगेको उनले बताइन्। उनी भन्छिन्, ‘यसैबाट नुन, तेल, कपडा किन्न पुगेको छ ।’ उनले १०–१५  रुपैयाँमा कवाडी बेच्ने गर्छिन्। कमाइ थोरै भए पनि खटाइ धेरै हुने उनी बताउँछिन्।

जौमतीले यो काम १५ वर्षदेखि गर्दै आएकी छिन्। एक दशकभन्दा बढी समयसम्म एउटै काम गरे पनि उनको जीवन र दैनिकी उस्तै छ। सामान्य साक्षरसमेत नभएका कारण उनले अन्य पेशा गर्न आँटसमेत नगरेको बताइन्। उनी भन्छिन्, ‘भारत जाउँ भने घरमा बालख छोराछोरी छन्।’ 

फुर्सद भएका बेला उनी सामान ओसार्ने काम पनि गर्छिन्। बजारका व्यापारीहरूले ल्याएको सिमेन्ट, चामल, नुनलगायत खाद्यान्न ट्रकबाट झार्नेसमेत गरेको उनी बताउँछिन्। उनले भनिन्, ‘महिला त चुलो चौकोमा मात्र सिमित हुनुपर्छ भन्छन् । घरको डिल नाघ्नु हुँदैन भन्छन्। तर, आफूलाई घरको डिल ननाघे भोकै पर्नुपर्छ।’

‘स्थानीय सरकारले केही सिपमुलक तालिम दिए हुने’
जौमतीले आफूसँग केही सिप नभएकाले यस्तो दुःख गर्नु परेको बुझेकी छिन्। यसै कारण स्थानीय सरकारले विपन्न र गरिबलाई लक्षित गरि केही सिपमुलक तालिम दिनु पर्ने माग गरेकी छिन्। 

‘चुनावका बेला विभिन्न प्रलोभन देखाएर भोट माग्छन् जितेपछि वास्ता गर्दैनन्। स्थानीय सरकारले सिपमुलक काम दिए त्यसैबाट आम्दानी गर्न सक्थ्यौं की,’ उनले भनिन्। स्थानीय सरकार गठन भएको पाँच वर्ष पुग्न लाग्दासमेत नगरपालिकाले विपन्न, गरिब, महिलाको लागि कुनै लक्षित सिपमुलक कार्यक्रम नल्याएको उनी बताउँछिन्।

Logo