सप्तरीमा एकैदिन ३७ प्रहरीसहित ५३ संक्रमित

सप्तरीमा एकैदिन ३७ प्रहरीसहित ५३ संक्रमित

केन्द्रबिन्दु
0
Shares

जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३७ प्रहरीसहित ५३ जना आज संक्रमित भएका छन् । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको प्रयोगशालामा गरिएको परीक्षणअनुसार जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३७ प्रहरी र सोही कार्यालयमा सरसफाई गर्ने राजविराज नगरपालिका–६ का १९ वर्षीय पुरुष संक्रमित भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष खडकाका अनुसार दुई प्रहरी निरीक्षक, तीन प्रहरी नायब निरीक्षक, चार प्रहरी सहायक निरीक्षक, चार हवल्दार र अन्य प्रहरी संक्रमित भएका हुन् । सोमध्ये दुई महिला प्रहरी छन् ।

यसैगरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका ३५ वर्षीय चिकित्सक, राजविराज–३ का ४५ वर्षीय अभिवक्ता, भिम दल गणका ३७ वर्षीय पुरुषसमेत संक्रमित भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. रणजितकुमार झाले बताए । तिरहुत गाउँपालिका–२ का २९ वर्षीय, राजविराज– ११ का १५, १८ र ३५ वर्षीय पुरुषमा समेत संक्रमण देखिएको छ ।

कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा कञ्चनरुप नगरपालिका–६ की पाँच र २५ वर्षीया, वडा नं ८ की ३३ वर्षीया र वडा नं ९ की २७ र ४१ वर्षीया महिला तथा विष्णुपुर गाउँपालिकाका ४५ वर्षीय पुरुष संक्रमित भएका छन् । यी छ जनाको बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा पिसीआर परीक्षण गरिएको स्वास्थ्य कार्यालय कञ्चनरुपका सिनियर अहेव डम्बर गुप्ताले जानकारी दिए ।

यस्तै कोसी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महादेवा गाउँपालिकाका ११ वर्षीय र सुरुङ्गा नगरपालिका–२ का ४० वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।

जिल्लामा आज ५३ जना संक्रमित थपिएसँगै एक हजार १४३ जना संक्रमित पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Logo