कोभिड–१९ सङ्क्रमण रोकथामका लागि काठमाडौँ उपत्यकामा लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था हटाइने भएको छ।
उपत्यकाका तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) ले आज एक आदेश जारी गरि यसअघि जारी भएका सबै प्रतिबन्धात्मक व्यवस्था शनिबारदेखि पूर्णरूपमा हटाइने जानकारी गराएका छन्।
पछिल्लो समयमा कोरोना सङ्क्रमण घट्दै गएकाले शनिबारदेखि लागू हुनेगरि कानून बमोजिमका राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा व्यवसायिक क्रियाकलाप सञ्चालन गर्न/गराउन उक्त आदेशमा भनिएको छ। आदेशमा यसरी गतिविधि सञ्चालन गर्दा प्रचलित स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह गरिएको छ।
ती प्रशासन कार्यालयले कोभिड–१९ सङ्क्रमण, रोकथाम, नियन्त्रण, निदान र उपचार प्रभावकारी बनाउन नेपाल सरकार मन्त्रिपरिषदबाट भएका निर्णय, कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस, कोभिड–१९ सङ्क्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि ०७८, सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ समेतले दिएको अधिकार प्रयोग गरी विभिन्न आदेश जारी गरेको थियो।
तीनै जिल्लाका प्रशासन कार्यालयले सङ्क्रमणको कठिन समयमा आदेशको पालना गरि सङ्क्रमण रोकथाममा सहयोग गरेकाेमा सबैलाई धन्यवाद पनि दिएको छ।































प्रतिक्रिया