मधेश प्रदेशमा यसपटक लगातार तीन दिन ‘होली’ पर्व मनाइने भएको छ। तिथि र मध्यमा परिक्रमाका कारण यसपालि लगातार तीन दिन पर्वको तयारी देखिएको हो।
मधेशका पर्वते समुदायले आज पूर्णिमाका दिन ‘होली’ मनाइरहेका छन् भने मधेश प्रदेशका मूल मधेशीले पूर्णिमाको भोलिपल्ट ‘होली’ मनाउँछन्। मिथिला क्षेत्रमा माध्यमिकी परिक्रमाको जनकपुरधाममा गरिने अन्तर्गृह परिक्रमा सम्पन्न गरेर त्यसको भोलिपल्ट ‘होली’ मनाउने अर्को परम्परा छ। यसअनुसार आज जनकपुरधाम आइपुगेको परिक्रमा भोलि अन्तर्गृह परिक्रमा गरेर शनिबार होली मनाउने तयारीमा छ।
छोड्दो पूर्णिमा तिथिमा पर्वते समुदायले र मधेशी समुदायले उदाउँदो पूर्णिमा अर्थात् चैत कृष्ण प्रतिपदाका तिथिमा होली मनाउने परम्परा भए पनि जनकपुर क्षेत्रमा अन्तर्गृह परिक्रमाको भोलिपल्ट पर्व मनाइने गरिन्छ। यसअनुसार शनिबार पनि होली खेलिने भएको छ। “माध्यमिकी परिक्रमाका यात्री डोलासहित आज जनकपुर आए, अब भोलि अन्तर्गृह परिक्रमा हुनेछ, त्यसैले यहाँ शनिबार होली मनाइने छ”, मोफसलका पत्रकार वीरेन्द्र रमणले भने ।
परिक्रमासँग सम्बन्धित भएर जनकपुर क्षेत्रमा पर्वको निर्धारण गरिन्छ भने अन्य क्षेत्रका आम मधेशी पूर्णिमाको भोलिपल्टै ‘होली’ मनाउँछन्। “आज पूर्णिमाका दिन पर्वते समुदायका मधेशी पर्व मनाउँदैछन्, हामी मूल मधेशी भोलि (शुक्रबार) मनाउँछौँ”, स्थानीय भङ्गाहा–४ का जवाहर महतोले भने।
तिथि घटबढ र परिक्रमा परम्पराले पर्व लगातार तीन दिन परे पनि यहाँ सांस्कृतिक घुलमिलले सबै ‘होली’ मा मिसिन्छन् । मधेश आजदेखि नै होलीको रङमा रङ्गिँदो छ। यो क्रम अब शनिबारसम्म रहनेछ ।
सबैको हातमा अबीरका झोली।।! सबैको एउटै बोली, जय होली।।!! ‘बुरा नमानो होली है !’
जताततै होलीको रौनक एकाबिहानैदेखि देखिँदो छ। यसैबीच पर्वलाई सभ्य र शालीन ढङ्गले मनाउन प्रशासनिक निकाय र सामाजिक सङ्घ संस्थाले आग्रह गरेका छन्। ‘होली’ सत्य र अहिंसाको प्रतीक पर्व भएकाले जबर्जस्ती रङ हाल्ने, लोला हान्ने र अरुलाई बाधा पर्ने गरि मादक पदार्थ सेवन गरि होहल्ला गर्ने पक्षलाई निरुत्साहित गर्न पर्ने सबै निकायले आग्रह गरेका हुन्।





























प्रतिक्रिया