आइतबार मोरङको लेटाङमा भएको घटनामा संलग्न भएको भन्दै ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।उनीहरुको पहिचान भने प्रहरीले खुलाएको छैन ।मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले भने, ‘शंकास्पद व्यक्तिहरुलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बाढाएको छ ।’
खेरुवास्थित शिक्षा विकास माविका एक शिक्षकले १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा आइतबार भएको सर्वपक्षीय छलफलमा आक्रोशित भीडको आक्रमणमा परेर महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।
सो कारण भीड नियन्त्रण काहिर जाँदा प्रहरीको घाँटी र छातीमा छुरा प्रहार गरेको थियो । मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीसहित २५ जना प्रहरी र ७ जना स्थानीय घाइते भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविनराज राईले बताए ।
घटनालाई राजनीतिक इस्यु नबनाउन मोरङको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले आग्रह गरेका छन् । उनले विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकबाटै गल्तीको सुरुवात भएको दाबी गरे । घटनामा संलग्न शिक्षक, उनलाई बचाउन खोज्नेहरू तथा प्रहरीको हत्यामा संलग्न सबैलाई जुनसुकै अवस्थामा पनि पक्राउ गरेर कानूनी दायरामा ल्याउनु पर्नेमा उनले जोड दिए ।
उनले भने, ‘घटना चाहिं एउटा शिक्षकले एउटा विद्यार्थीलाई होलीको समयमा पनि र त्यस अगाडि पनि पटक-पटक जबर्जस्ती करणी गर्न खोज्दो रहेछ । त्यसपछि त्यो नानीहरुले विद्यालय व्यवस्थापन समिति र हेडसरलाई भनेको पनि रहेछ । तर, उनीहरुले शिक्षकको बेइज्जत हुनेभयो भनेर लुकाउने प्रयास गरेका रहेछन् । पटकपटक भन्दा पनि कुनै कारबाही नभएपनि छात्राहरुले अभिभावकलाई भनेछन् । त्यसपछि हल्ला फैलियो । धेरै हल्ला फैलिएपछि अभिभावक र विद्यार्थीले ती शिक्षकलाई जुत्ताको माला, कालोमोसो दल्ने, कारबाही गर्नुपर्ने भन्ने माग गरेर प्रदर्शन गरेका थिए । त्यही अवस्थामा भीड कन्ट्रोल हुन सकेन । त्यसकारण महिला प्रहरीको मृत्यु भयो ।’
उनले थपे, ‘विद्यार्थी बालिकालाई पटक-पटक आक्रमण गरेको सूचना हेडसर र व्यवस्थापन समितिलाई सूचना दिँदा पनि मिलाउने प्रयत्न गरेको देखियो । तर, शिक्षकले नै अपराधिक गतिविधि जारी राखेको कारण यस्तो घटना भएको छ । त्यो पनि गलत भयो । हामीले त्यसखालको घटनालाई ढाकछोप गर्नेलगायत सबैलाई कारबाही हुनुपर्छ भनेका छौं ।’ उनले अपराधि जोसुकै भएपनि सजाय हुनुपर्ने माग समेत गरे ।





























प्रतिक्रिया