प्रहरीको नयाँ सिर्जना गरिएका पदमा बढुवा प्रक्रिया सुरु

प्रहरीको नयाँ सिर्जना गरिएका पदमा बढुवा प्रक्रिया सुरु

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रहरीमा तल्लो तहका प्रहरीको लामो समयसम्म बढुवा हुन नसक्ने समस्या समाधान गर्न नयाँ सिर्जना गरिएका पदमा बढुवा प्रक्रिया सुरु भएको छ। नेपाल प्रहरी स्थापना भएदेखि नै तल्लो तहमा लामो समयसम्म बढुवा हुन नसक्ने समस्या समाधान गर्न तीन पद सिर्जना गरिएको थियो। 

प्रहरी नियमावली, २०७१ लाई नवौँ संशोधन गरि जवान र हबल्दारको बीचमा प्रहरी सहायक हवल्दार, हवल्दार र प्रहरी सहायक निरीक्षकको बीचमा प्रहरी वरिष्ठ हवल्दार तथा प्रहरी निरीक्षक र प्रहरी नायब निरीक्षकको बीचमा प्रहरी वरिष्ठ नायब निरीक्षक पद सिर्जना गरिएको छ। 

सरकारले प्रहरी नियमावली २०७१ लाई संशोधन गरि ‘प्रहरी (नवौँ संशोधन) नियमावली, २०७८ गत माघ ३ गते राजपत्रमा प्रकाशित गरेको थियो। सोहीअनुसार पहिलो चरणमा बिहीबार मात्रै बढुवा सिफारिस भएको हो। 

गृह मन्त्रालयका प्रहरी प्रशासन शाखाका उपसचिव गणेश गैरेका अनुसार नियमावली संशोधनपछि तीन पदमा गरेर २० हजार ४१९ प्रहरीको वढुवा हुनेछ। उनका अनुसार प्रहरी वरिष्ठ नायब निरीक्षकमा एक हजार ४१८, प्रहरी वरिष्ठ हवल्दारमा तीन हजार ७४८ र प्रहरी सहायक हवल्दारमा १५ हजार २५३ जना बढुवा हुनेछन्। 

यी मध्ये पहिलो चरणमा प्रहरी वरिष्ठ नायब निरीक्षकमा १९१, प्रहरी वरिष्ठ हवल्दारमा एक हजार १७३ तथा प्रहरी सहायक हवल्दारमा एक हजार ७५२ जना बढुवा सिफारिस भएका छन्। 

गृहमन्त्री खाणले लामो समयसम्म वृत्तिविकास हुन नसकेका तल्लो तहका प्रहरीलाई काममा हौसला बढाउन उक्त निर्णय गरी कार्यान्वयनमा लगिएको जानकारी दिए। “लामो समयदेखि तल्लो तहका प्रहरीको बढुवा हुन सकिरहेको थिएन, उनीहरूको बढुवा गरेर वृत्तिविकास गर्न पद थप्ने निर्णय गरेका हौँ, यसमा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको ठूलो हात छ”, गृहमन्त्री खाणले भने। नियमावलीमा व्यवस्था भएअनुसार ज्येष्ठताका आधारमा बढुवा गरिनेछ।

Skip This
Skip This
Logo