तनहुँमा म्यादी प्रहरीमा तेब्बरको आवेदन, मंगलबारदेखि छनाैट प्रक्रिया सुरू हुने

तनहुँमा म्यादी प्रहरीमा तेब्बरको आवेदन, मंगलबारदेखि छनाैट प्रक्रिया सुरू हुने

केन्द्रबिन्दु
0
Shares

आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा सुरक्षार्थ खटिने म्यादी प्रहरी हुनलाई तनहुँमा झन्डै तेब्बर बढीले आवदेन दिएका छन्। एक हजार २९२ म्यादी प्रहरीका लागि आवदेन माग गरिएको थियो। तर, तीन हजार ४१८ जनाले म्यादी प्रहरी बन्न आवेदन दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक शिवराज क्षेत्रीले बताए।

क्षेत्रीका अनुसार ६४५ महिला र दुई हजार ७७३ पुरुषले म्यादी प्रहरीमा आवेदन दिएका हुन् ।  ६ देखि ११ चैतसम्म जिल्ला प्रहरी कार्यालय दमौलीमा आवदेन लिइएको थियो । म्यादी प्रहरी छनोट प्रकृया मंगलबारदेखि सुरु हुने प्रहरी नायव उपरिक्षक क्षेत्रीले बताए । उनले भने, ‘शारीरिक तन्दुरुस्ती, लिखित परीक्षा, अन्तर्वार्ता र स्वास्थ्य परीक्षण गरेर बल्ल छनोट गरिन्छ।’  चैत २२ सम्म छनोट भएका म्यादी प्रहरीको नतिजा प्रकाशन हुनेछ। चैत २८ देखि प्रशिक्षण दिन थालिनेछ ।

जिल्लामा म्यादी प्रहरी बन्न परेको तेब्बर बढीको आवेदनले नेपालमा बेरोजगारीको स्थिति प्रस्ट झल्काएको प्राध्यापक डा. ईश्वरचन्द्र वाग्ले बताउँछन् । म्यादीमा छनोट हुन दिएको आवदेनले युवाको आकर्षणभन्दा पनि बेरोजगारीको तथ्याङ्क उजागर गरेको उनको भनाइ छ।

‘वैदेशिक रोजगारीमा जानेहरुको पनि लर्को छ । एमए पढेकासमेत म्यादी  प्रहरीमा गएका छन् । यसले त नेपालका राजनीतिक दल र नेताहरूलाई सोच्न बाध्य बनाएको छ कसरी बेरोजगारीलाई रोजगारीमा बदल्ने भनेर’, उनी भन्छन्, ‘अब कसरी हुन्छ देशमा रोजगारीको अवसर सिर्जना गर्न लाग्नुपर्छ । उत्पादन बढाउनुपर्नेछ ।’  

कोरोना महामारीलाई दोष दिएर नेताहरू उम्कन नमिल्ने वाग्लेको भनाइ छ। बेरोजगारीको समस्या भयवह भइरहेको बताउँदै उनले थपे, ‘बेरोजगारी बढेपछि हत्या हिंसा, चोरी डकैती बढाउँछ।’  उद्योगधन्दा खोल्ने र धेरैभन्दा धेरै पर्यटक भित्र्याएर रोजागारीसँग जोड्ने योजना सरकारले बनाउनुपर्ने उनले बताए । ‘नेताहरु आफ्नै स्वार्थ मात्र हेरिरहेका छन्। भ्रष्टाचारमा लिप्त भएको देख्छौँ’, उनले भने ।

१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेकाले म्यादी प्रहरीमा भर्ना हुन पाउनेछन् । कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरिएको, कुनै राजनीतिक दलको सदस्य नरहेको, साधारण लेखपढ गर्न जान्ने र शारीरिक तथा मानसिकरुपमा तन्दुरुस्त रहेको हुनुपर्ने योग्यता निर्धारण गरिएको छ ।

छनोट पार गरेर भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्नेछन् । प्रहरी जवानले पाउने तलब सुविधा म्यादी प्रहरीका लागि व्यवस्था गरिएको छ। ४० दिनको पारिश्रमिक ३० हजार २४० रुपैयाँ निर्धारण गरिएको छ। पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्नवापत सात हजार २०० रुपैयाँ, पोसाक र अन्य खर्च गर्ने गरी छ हजार रुपैयाँ र यातायात खर्चबापत एक हजार रुपैयाँका दरले पाउनेछन्। बीमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ।

Skip This
Skip This
Logo