सडक निर्माण सम्पन्न नगरी अलपत्र पारेपछि गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाको सीमा क्षेत्रमा रहेको जोरपाटी-साखु सडक खण्ड अवरुद्ध गरिएको छ । गोकर्णेश्वर नगरपालिकाकी उपमेयर शान्ति नेपालको नेतृत्वमा स्थानीयले आज बिहान ७ बजे देखि सो सडक अवरुद्ध गरेका हुन् ।
उनीहरुले नारायणटार बागमती पुलदेखि दक्षिणढोका पुल सम्मको सडक खण्ड बन्द गरेका छुन् । ६ वर्ष अघिदेखि निर्माणाधीन जोरपाटी–साखु सडकखण्ड अझै निर्माण सम्पन्न भैसकेको छैन । धेरै ठाउँमा सडक मर्मत गर्दै छाडिएको छ । यसबाट स्थानीयवासी र सडक प्रयोगकर्ताले हैरानी भोग्दै आएका छन् ।
यो सडक खण्ड काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ र २ मा पर्दछ । जहाँबाट क्रमशः नेकपा एमालेका कृष्ण राई र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले जितेका छन् । प्रदेश क्षेत्रमा पनि नेकपा एमालेका रामेश्वर फुयालले नेतृत्व गरेका छन् ।
स्थानीय राजेन्द्र सिपाहीका अनुसार सडकको दुरावस्थाबारे संघीय सांसदलाई पटक-पटक जानकारी गराउँदा पनि बेवास्ता गरेकाले स्थानीय जनप्रतिनिधिलाई अघि सारिएको हो ।
यसअघि गतसाता पनि सो सडकखण्ड कालोपत्रे (पिच) गर्न माग गर्दै थलीका बासिन्दाले सडक अवरुद्ध पारेका थिए । घाम लाग्दा धुलो र पानी पर्दा हिलोका कारण सास्ती खेप्दै आएका स्थानीयले सडक कालोपत्रे गर्न माग गरेका थिए ।































प्रतिक्रिया