रुपन्देहीमा युवतीको रहस्यमय मृत्यु, हत्या भएको भन्दै माइती पक्षद्वारा प्रदर्शन

रुपन्देहीमा युवतीको रहस्यमय मृत्यु, हत्या भएको भन्दै माइती पक्षद्वारा प्रदर्शन


रुपन्देहीको तिलोत्तमामा एक महिलाको रहस्यमय मृत्यु भएको छ। तिलोत्तमा नगरपालिका–२ ड्राइभर टोल बस्ने २९ वर्षीया अनिता क्षेत्री टण्डनको रहस्यमय मृत्यु भएको हो। उनको माइती पक्षले भने अनिताको हत्या भएको आरोप लगाएको छ।

बुधबार राति सवा १० बजे घरमै अनिताको शव फेला परेको थियो । अनिताको हत्या भएको भन्दै माइती पक्षले प्रदर्शन गरेपछि प्रहरीले अनुसन्धानका लागि भन्दै श्रीमान् प्रेम टण्डनलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले अनुसन्धानपछि मात्रै घटनाको वास्तविक विवरण पत्ता लाग्ने बताए।  माइती पक्षले कारबाहीको माग गर्दै प्रेमको घर घेराउ गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

विष सेवन गरी आत्महत्या गरेको सूचना प्रहरीले राति पाएको थियो । सोही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट टोली खटिएको थियो । 'किटनाशक विष सेवन गरेको सूचना पाएपछि प्रहरी घटनास्थल गएको थियो, यस विषयमा अनुसन्धान जारी छ, माइती पक्षले हत्या भएको भनिरहनुभएको छ,' प्रहरी नायब उपरीक्षक पौडेलले भने ।

अनिताको हत्या भएको भन्दै बिहीबार बिहानैदेखि प्रदर्शन भइरहेको छ । प्रहरी नायब उपरीक्षक पौडेलका अनुसार माइती पक्षले जाहेरी पनि कर्तव्य ज्यानमा दिएका छन् । सो जाहेरी पनि दर्ता भइसकेको पौडेलले जानकारी दिए । अमृता र प्रेम टण्डनको पाँच वर्ष अघि विवाह भएको थियो ।

पोस्टमार्टम रिपोर्ट आइसकेपछि मात्रै विष सेवनबाट मृत्यु भएको हो वा के भएको हो भन्नेबारेमा थाहा हुने उनको भनाइ छ । कर्तव्य ज्यानमा जाहेरी दिए पनि निष्पक्ष छानबिन गरि वास्तविक तथ्य बाहिर ल्याउन प्रहरी प्रयासरत रहेको डिएसपी पौडेलले बताए । 

अनिताको शव पोस्टमार्टम गर्न बुटवलस्थित प्रादेशिक अस्पताल राखिएको छ। तर पोस्टमार्टम नभइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

घरपरिवारले योजना बनाएर हत्या गरेको अमृताका दाजु पुष्प खत्रीले आरोप लगाएका छन्। खत्रीका अनुसार पहिलादेखि नै घरायसी कामको विषयलाई लिएर घर पक्षले अमृतालाई धम्की दिने, झगडा गर्ने  र हातपात गर्ने गरेका थिए ।

बुधबार राति ९:३० बजे आफूलाई सामाजिक सञ्जालमार्फत दाइ मलाई बचाउनुहोस्, मलाई यहाँबाट निकाल्न सहयोग गर्नुहोस् भन्दै एसएमएस गरेको समेत खत्रीले बताएका छन् ।

Logo