काठमाडौं उपत्यकामा दैनिक संकलन हुने फोहोरको स्थायी व्यवस्थापन हुन नसक्दा नागरिकहरु समस्यामा परेका छन् ।
दैनिक रुपमा निस्कने फोहोरको व्यवस्थापनको प्रयास भएपनि दीर्घकालिनरुपमा व्यवस्थापन हुन नसक्दा नागरिकमा स्वास्थ्य लगायतका समस्या थपिएका हुन् ।
उपत्यकाका ३ जिल्लाका १८ स्थानीय तहबाट निस्कने फोहोर नुवाकोटको ओखरपौवामा व्यवस्थापन गरिँदै आइएको छ । तर स्थानीयवासीहरुले विभिन्न मागहरु राख्दै अवरोध गर्ने गरेका कारण फोहोर व्यवस्थापन हुन समस्या परेको हो ।
हिजोआज काठमाडौंका सडकहरुमा फोहोर थुप्रिनु सामान्य जस्तै बनेको छ । जसले गर्दा सवारी साधन गुड्न तथा मानिस पैदल आवत जावत गर्न पनि समस्या पर्दै आएको छ । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा फोहोरको स्थायी व्यवस्थापन हुने जनाएको छ । यसका लागि आवश्यक तयारी भएको महानगरले बताउँदै आएपनि लामो समयदेखि फोहोरको व्यवस्थापन हुन नसकेका कारण स्थानीयवासीहरु हैरान भएका हुन् ।
सरोकारवाला निकायको कमजोरीका कारण फोहोर व्यवस्थापन हुन नसकेको स्थानीयवासी शंकर ढंगोलले बताए । यसमा सबैले ध्यान दिनु पर्ने र सरकारले पनि प्राथमिकतामा राखेर फोहोर व्यवस्थापन गर्नु पर्ने उनको भनाइ छ ।
यता काठमाडौं महानगरपालिकाले भने केही समयभित्रै यसको अचित व्यवस्थापन हुने जनाएको छ । तर पटक पटक यस्ता आश्वासन पाइने र काम नहुने गरेका कारण स्थानीयवासीले भने यसमा विश्वास गर्न नसकिने बताउँदै आएका छन् । अब काम नभएसम्म सरकारको कुरा विश्वास गर्न नसकिने उनीहरुले बताए ।
रबिना माझी (प्रशिक्षार्थी पत्रकार)





























प्रतिक्रिया