कोरोनामा प्रहरी र कर्मचारीले खेलेको भूमिका महत्वपूर्ण छ : शैलेश थापा क्षेत्री

कोरोनामा प्रहरी र कर्मचारीले खेलेको भूमिका महत्वपूर्ण छ : शैलेश थापा क्षेत्री

केन्द्रबिन्दु
0
Shares

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले २२ महिनले आफ्नो कार्यकालमा कोभिड-१९ सङ्क्रमणको महामारी नियन्त्रणमा नेपाल प्रहरीले खेलेको भूमिका अभूतपूर्व रहेको बताएका छन् । 

चार दिनपछि ३० वर्षे सेवा अवधिका कारण अवकाश लिन लागेका  महानिरीक्षक थापाले आफ्नो कार्यकालमा भएका कार्य प्रगतिबारे आज पत्रकारलाई जानकारी दिँदै प्रहरी कर्मचारीले आफ्नो ज्यानको बाजी थापेर पनि कोभिडका बेला जनताको सुरक्षामा खटिएर प्रशंसनीय कार्य गरेको स्मरण गरे । 

‘तत्कालीन समयमा प्रहरी सडकमा जाने की नजाने भन्ने भय थियो, मृत्युको डर सबैलाई हुन्छ, त्यो युनिफम लगाउँदा पनि हुन्छ’, उनले भने, ‘महामारीमा मर्न सक्ने सम्भावना हुँदाहुँदै पनि प्रहरी अक्सिजन प्लान्टको सुरक्षा, सिलिण्डर सङ्कलन, आफ्नै स्वास्थ्य निकाय परिचलन तथा आफ्नै कर्मचारी क्वारेन्टिनमा राख्नुपर्ने अवस्थामा पनि खटे त्यो काम चाहिँ नेपाल प्रहरीले गरेको अभूतपूर्व हो ।’

त्यसका अलावा अन्य प्रहरी सङ्गठनको सुधारका लागि विभिन्न कार्यक्रम भएका र तल्लो तहका कर्मचारीका हितमा धेरै काम भएको पनि उनले जानकारी दिए ।  

प्रहरी नियमावली संशोधन एक ब्रेक थ्रो भएको उल्लेख गर्दै महानिरीक्षक थापाले तीन पद थपेर तल्लो तहका कर्मचारीको पक्षमा महत्वपूर्ण निर्णय भएको बताए ।  सरकराले नियमावली संशोधन गरी वरिष्ठ प्रहरी नायब निरीक्षक, वरिष्ठ प्रहरी हवल्दार र प्रहरी सहायक हवल्दारको पद थपेको छ । 

उक्त संशोधनसँगै करिब १५ हजार हाराहारीमा पद थप भएकाले त्यसमा बढुवा गर्ने कामसमेत सम्पन्न भएको उनले जानकारी गराए । ‘त्यो  प्रहरी कर्मचारीका लागि उत्प्रेरणा दिने हिसाबले हेर्दा राम्रो काम भएको छ’, महानिरीक्षक थापाले भने । 

यस्तै प्रहरी कार्यालय सहयोगी भान्छा, मेस तथा बगैँचामा काम गर्ने का पक्षमा पनि अभूतपूर्व काम भएको उहाँले उनले बताए ।  उनीहरू तीस वर्ष जागिर खाएर जाँदा पनि हैसियत समान हुन्थ्यो । उनीहरूलाई पाँचौँ तहसम्म बढुवा गर्न सक्ने र निवृत्त हुँदा जुनियर प्रहरी अधिकृत भएर जानसक्ने अवस्था भएको छ । यसका साथै सेवा निवृत्त हुँदा १२ वर्ष पुगेका मात्रै एक तह बढुवा हुन पाउने सुविधालाई सुधारेर आठ वर्षमा बढुवा हुने अवस्था बनाएको जानकारी दिए । 

बजेट अभाव हुँदाहुँदै पनि प्रहरीभित्र आर्थिक क्षेत्रमा केही राम्रा काम भएको उहाँको दाबी छ । धेरै वर्षदेखि रासनमा ३३ प्रतिशत वृद्धि गर्न प्रयास गरिए को तर त्यो सफल नभए पनि १५ प्रतिशत वृद्धि हुनु सकारात्मक भएको उनले बताए । ट्राफिक प्रहरीका लागि जोखिम भत्ता रोकिएकोमा पुनः बाँड्न सक्ने अवस्थामा सिर्जना गरिएको र प्रहरी कर्मचारी पिटी जुत्तामा दौडिनेमा स्पोर्ट जुत्तामा दौडन सक्ने भएका पनि उनले सुनाए । 

यसका अतिरिक्त आफ्नो कार्यकालमा २३ हजार जतिलाई बढुवा गरिएको, सङ्गठन व्यवस्थापनको नेतृत्व विकासका लागि व्याच नाघेर बढुवा गराउनका लागि आएको दबाब झेलेर ज्येष्ठता कायम गर्ने प्रयास गरिएको उनले बताए । 

सङ्गठनकै मूल्याङ्कन गर्दा ‘पुलिसिङको इन्डिकेटर’ हेर्ने हो भने मुख्य अपराधमा सफल अनुसन्धान गरिएको जानकारी दिए । निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरण आफू आउनुभन्दा अघिका अपराध भए पनि अनुसन्धान निष्कर्षमा गरिएको प्रयास भने सफल हुन नसकेको बताए । 

उनले फरार अभियुक्त पक्राउ, लागुऔषधविरुद्धको अभियान, मुद्दा दर्तालगायत काममा २२ महिनामा देखिने गरी प्रतिशतमै वृद्धि भएको दाबी गरे । आफ्नो २२ महिने अवधिमा प्रहरीको कार्य प्रगतिमा एउटा प्रणालीमै लैजाने काम भएको  बताए । उनले प्रहरी सङ्गठन व्यवस्थापनको दीर्घकालीन खाकासमेत तयार पारेकचा छन् । 

 कोभिड नआइदिएको भए समुदाय प्रहरी साझेदारी कार्यक्रम थप प्रभावकारी हुने उल्लेख गरे । आफ्नै कार्यकालमा १६ वर्षे पेन्सनको अवस्था ल्याउने योजना पनि सफल हुन नसकिएको भन्दै दुःख पोखे ।  
 
उनले २२ महिने अवधिमा प्रहरी कार्यायोजना जारी, वार्षिक कार्यसम्पादन सम्झौता र अनुगमन प्रणालीको विकास गरिएको र विभिन्न कानुनी तथा नीतिगत सुधारात्मक कार्यक्रम भएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले जानकारी दिए ।  

उनका अनुसार महानिरक्षिक थापाको कार्यकालमा फैसला कार्यान्वयन तथा अभियुक्त पक्राउको सङ्ख्यासमेत बढेको छ । प्राप्त विवरणअनुसार अदालतको फैसला कार्यान्वयनतर्फ १२ हजार ५६९ फरार मानिस पक्राउ गरिएको छ भने थाँती रहेका १९ हजार १८१ मुद्दा फछ्र्योट भएको छ । 

यस्तै रु छ अर्ब १० करोड राजस्व सङ्कलन गरिएको र  लागुऔषधका मुद्दामा आठ हजार ८५७ मानिस पक्राउ गरी  पाँच हजार ८४० मुद्दा दर्ता भएको जनाइएको छ । प्रहरी महानिरीक्षक थापा यही १८ गते ३० वर्षे सेवा अवधिकार कारण अवकास पाउँदै छन् । त्यसको पूर्वसन्ध्यामा उहाँले आज पत्रकार भेटघाट आयोजना गरी कार्यप्रगति सुनाए । 
 

Logo