‘पत्रकारितामा अगाडि बढ्न पत्रकार महिला सक्षम भएर आउनु पर्छ’

‘पत्रकारितामा अगाडि बढ्न पत्रकार महिला सक्षम भएर आउनु पर्छ’

केन्द्रबिन्दु
0
Shares

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता क्षेत्रमा अगाडि बढ्न सबै महिला पत्रकारले सक्षम भएर आउनुपर्ने बताएका छन् । सञ्चारिका समूहले आयोजना गरेको ‘पत्रकार महिलाको सुरक्षा’ विषयक कार्यक्रममा बोल्दै बस्नेतले पत्रकार महिला सक्षम हुँदाहुँदै पनि महिला भएकै कारण हिंसा खेप्नु पर्ने र राम्रो अवसर नपाउने समस्या भएको बताए ।

काउन्सिलमा पर्ने उजुरीमा पनि महिला भएकै कारण बढी आक्रमणमा पर्ने गरेको विषय बढी आउने गरेको बस्नेतको भनाइ थियो । ‘हामीले समस्याको समाधान गर्नु पर्छ । प्रेस काउन्सिलमा पर्ने उजुरीमा पनि बढि महिला भएकै कारण बढि आक्रमणमा पर्ने गरेका छन्’, बस्नेतले भने, ‘नक्कली फेसबुकबाट र युट्युबबाट गर्ने हिंसामा कारबाही गरेका छौं।’ त्यसैगरी कार्यक्रममा बोल्दै न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले कोरोनाबाट जागिर छुट्नेमा पनि पत्रकार महिला बढी रहेको बताइन्। ‘महिलालाई धेरै असर गरेको छ। हामीले यसको सम्बोधन गर्छौं’, उनले भनिन् । 

कार्यक्रममा सहभागी पत्रकार महिलाले कार्य क्षेत्रमा पत्रकार महिलाले भोग्नुपरेका अनुभवहरू राखेका थिए। यसैगरी पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले पत्रकार महासंघमा उजुरी नै कम पर्ने बताए। उनले भने, ‘यहीँ भन्ने कुरा पनि हामीले समाधान गर्न सक्ने हुन्छन् तर आइपुग्दैन। कति कुरा नभनेका कारण समस्या बनेका छन् । हामी गोपनियता कायम गरेर समाधानको प्रयास गर्छौं।’ 

यस्तै कार्यक्रममा पत्रकार दीपा दाहालले आफ्ना भोगाई राखेकी थिइन्। उनले आफूले राम्रो काम गर्दा गर्दै पनि महिला भएकै कारण धेरै कुरा भोग्न परेको बताइन्। ‘जब काममा महिलाबाटै थ्रेट फिल गर्छन् अनि समाचार कक्षमै खुम्च्याउने प्रयास गरिन्छ’, उनले भनिन् । त्यसैगरी कार्यक्रममा पत्रकार रामकला खड्काले समाचार कक्षमा प्रयोग गरिने भाषा, सवारीसाधन लगायतका समस्या पत्रकार महिलालाई बढि हुने बताइन्। कार्यक्रममा सुधा देव, मेनुका बस्नेत, चाँदनी आचार्य, कविता श्रेष्ठ, बसन्ता भट्ट लगायतले पत्रकार महिलाको समस्या र सुरक्षामा आफ्ना अनुभव राखेका थिए। 

पत्रकार महिलाको समस्या सुनिँदै आएको भन्दै अब समाधानमा काम गर्नको लागि कार्यक्रमको आयोजना गरिएको सञ्चारिका समूहका महासचिव वसन्ती बास्तोलाले बताइन् । उनले भनिन् ‘अब समस्या सुनेर समाधान गर्ने उपाय खोज्नेछौं।’

Skip This
Skip This
Logo