उपल्लो मुस्ताङमा स्वास्थ्य शिविर कार्यक्रम, १ हजार ७५० जनाको स्वास्थ्य परीक्षण

उपल्लो मुस्ताङमा स्वास्थ्य शिविर कार्यक्रम, १ हजार ७५० जनाको स्वास्थ्य परीक्षण

केन्द्रबिन्दु
0
Shares

सहजरूपमा आधुनिक स्वास्थ्योपचारको सेवा पाउन नसकेका उपल्लो मुस्ताङका बासिन्दालाई सोवारिग्पा उपचार विधिमार्फत निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ। 

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) र सोवा रिग्पा एशोसिएशन अफ नेपालको संयुक्त आयोजनामा लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा तीन हप्तासम्म सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा करिब एक हजार ७५० जनाको स्वास्थ्य परीक्षण गर्नुका साथै औषधिसमेत निःशुल्क वितरण गरिएको थियो । शिविरमा सोवारिग्पाका ११ चिकित्सक तथा आम्चीहरु सहभागी थिए । 

वातावरण तथा जैविक विविधताको संरक्षण गरि स्थानीय जडीबुटीहरुको सम्बर्द्धन गर्ने उद्देश्यले दुबै गाउँपालिकाका प्रत्येक वडामा जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको एशोसिएशनका अध्यक्ष डा (आम्ची) तेन्जिङ धार्के गुरुङले जानकारी दिए। उनका अनुसार कार्यक्रममा स्थानीय तहका प्रतिनिधि, आमा समूहका पदाधिकारी, गाउँका मुखिया र विद्यालयका शिक्षक तथा विद्यार्थीको सहभागिता थियो ।

एशोसिएशनले केही वर्षयता वर्षेनी यस किसिमका स्वास्थ्य शिविर र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। जलवायु परिवर्तनको प्रभावका कारण उच्च हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी विस्तारै लोप हुँदै गएको अवस्थामा तिनको संरक्षण र त्यसका लागि वातावरणीय जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने गण्डकी प्रदेशका सांसद इन्द्रधर बिष्टले बताए। 

कार्यक्रममा लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका निर्वतमान अध्यक्ष राजु विष्ट र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्टले पनि सोवारिग्पा प्राकृतिक उपचार विधिलाई विस्तार गर्न पालिकाहरूले सक्दो सहयोग गर्ने बताए।

Skip This
Skip This
Logo