वाग्मती नदी सफाइ महाअभियान १० औँ वर्षमा प्रवेश

वाग्मती नदी सफाइ महाअभियान १० औँ वर्षमा प्रवेश

केन्द्रबिन्दु
0
Shares

‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान आजदेखि नौ वर्ष पूरा गरी १० औँ वर्षमा प्रवेश गरेको छ। विसं २०७० जेठ ५ गते राजधानी काठमाडौँको सभ्यताको स्रोत वाग्मतीलाई स्नान गर्न योग्य बनाउने उद्देश्यका साथ सफाइ महाअभियान सुरु भएको थियो । पहिलो चरणमा पशुपति क्षेत्रसम्मको नदी सफा गर्ने लक्ष्य राखिएको थियो । 
     
सफाइ महाअभियानको नेतृत्व तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले गरेका थिए । हालसम्म पनि उनको नेतृत्व जारी छ । त्यस बेलादेखि प्रत्येक हप्ता शनिबार बिहान गर्मीमा ७ बजेदेखि नौ बजेसम्म र जाडोमा ७ः३० बजेदेखि ९ः३० बजेसम्म वाग्मती नदीका विभिन्न स्थानको किनारमा सफाइ हुने गरेको छ । महाअभियान अहिले ४७१ औँ हप्तामा चलिरहेको छ।

वाग्मतीबाट हालसम्म २० हजार मेट्रिक टन फोहर व्यवस्थापन भएको छ। महाअभियानमा १५ लाखभन्दा बढीले नदीमै गएर फोहर उठाएका छन् । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सरकारी एवं सामुदायिक संस्थाले पनि योगदान गरेका छन् । धेरै महाअभियानलाई सहयोग गरे पनि उद्देश्यअनुसार उपलब्धि हुन नसकेको गुनासो सुनिने गरेको छ। 

महाअभियान १० औँ वर्ष प्रवेश गरेकै बेला देशभरका ७५३ स्थानीय तहमा दोस्रो निर्वाचन सकिएर मत परिणाम सार्वजनिक हुने क्रम चलिरहेको छ । महाअभियानका अभियानकर्मी किशोरसिंह शाही फोहर व्यवस्थापनमा स्थानीय सरकारको साथ अत्यावश्यक पर्ने बताउँछन्। 

महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी, वाग्मतीकै पनि विभिन्न स्थानमा सफाइ अभियान चलिरहेको छ । काठमाडौँ उपत्यकाका हाल गुह्येश्वरीमाथिको वाग्मती, तिलगङ्गा, आलोकनगर, सुन्दरीघाट, मैतीदेवी, रुद्रमती, विष्णुमतीको माथिल्लो र तल्लो भाग, चक्रपथका उत्तरी र पश्चिमी भाग, मनोहरा, ललितपुरको गोदावरी खोला, भक्तपुरको हनुमन्तेलगायत सांस्कृतिक सम्पदा गरि २५ स्थानमा सफाइ भइरहेको छ । 

काठमाडौँ उपत्यका बाहिरका प्रमुख शहर, नदी र सांस्कृतिक सम्पदामा पनि सफाइ अभियान चलेको छ । काठमाडौँ उपत्यका बाहिर करिब १०९ स्थानमा सफाइ भइरहेको महाअभियानले जनाएको छ । महाअभियानले देशव्यापीरुपमा सफाइ जागरण फैल्याउन सफल भएको छ । अभियानको सफलताका लागि स्थानीय सरकारले साथ दिनुपर्ने अभियानकर्मीको माग छ ।

Skip This
Skip This
Logo