काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनचेतनामुलक कार्यक्रम गरेको छ । उपत्यका लगायत देशका अन्य स्थानमा संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि मन्त्रालयले जनचेतनामुलक कार्यक्रम गरेको हो ।
काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका विभिन्न १० रुटमा मन्त्रालयले जनचेतनामुलक कार्यक्रम गरेको हो । ‘कोरोनालाई परास्त गरौँ’, ‘स्यानिटाइजर मास्क प्रयोग गरौँ’, ‘भौतिक दूरी कायम गरौँ’ भन्ने नाराका साथ कार्यक्रमको सुभारम्भ गरिएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले भीडभाड भएको ठाउँमा गएर २ मिटरको दूरी कायम गर्न आग्रह गर्ने, भीडभाड नगर्ने, मास्क लगाउन आग्रह गर्ने, मास्क दिने गरी जनचेतना जगाउन कार्यक्रम आयोजना गरिएको बताए ।
त्यस्तै मन्त्रालयका प्रमुख विशेषज्ञ डा. महेन्द्र श्रेष्ठले कोरोना महामारी कहिलेसम्म रहन्छ भन्ने यकिन नभएको अवस्थामा बेलाबेलामा हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउने, स्वासप्रस्वासबाट कोरोना सर्न सक्छ भन्ने कुरालाई मध्यनजर गर्दै व्यक्ति व्यक्ति बीचको दूरी कायम गर्नुपर्नेमा जोड दिए । ललितपुरको पाटनमा दुर्भाग्यपूर्ण घटना भएको स्मरण गर्दै उनले आगामी दिनमा त्यस्ता घटना नहुन भनेर कार्यक्रमको आयोजना गरिएको बताए ।
त्यस्तैगरी मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा अहिलेसम्म २ सय ७१ जनाको कोरोना भाइरसका कारण ज्यान गएको छ भने अहिलेसम्म ४४ हजार २ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । साथै, २५ हजार ५ सय ६१ जना निको भएर घर फर्किएका छन् ।































प्रतिक्रिया