म्याग्दीमा फौजी कीराको समस्या

म्याग्दीमा फौजी कीराको समस्या

केन्द्रबिन्दु
0
Shares

म्याग्दी जिल्लामा किसानले लगाएको मकै बालीमा फौजी कीराले क्षति पुर्‍याउन थालेको छ । 

जिल्लाको ज्यामरुककोट, बाबियाचौर, अर्मन, रत्नेचौरलगायतका क्षेत्रका किसानले लगाएको मकै बालीमा त्यस्ता कीराले दु:ख दिन थालेको हो । हुर्किसकेका, घोवा हाल्न लागेका र भर्खर उम्रिएर हरिया भएका मकैका बोटलाई कीराले सखाप अवस्थामा पुर्‍याएको किसानको बताएका छन् । 

भर्खर हरिया भएका बोटमा फौजी कीराको आक्रमण बढी भएकाले बोट नै सकिन थालेको मङ्गलाका किसान टेकबहादुर विकले गुनासो गरे । उनका अनुसार विषादीले समेत कीराको आक्रमण रोकिन सकेको छैन ।     
     
उनले भने “पछिल्लो दुई सातादेखि मकैबालीमा फौजी कीराको समस्या बढेछ । समस्या रोक्न विभिन्न उपाय अपनाए पनि कीरा नियन्त्रणमा आउन सकेको छैन । ” बगरफाँट, खबरा, भकिम्ली, बाबियाचौरलगायतका स्थानका किसानले लगाएका क्षेत्रका बालीमा कीराको प्रकोप बढेको कृषि प्राविधिकले बताएका छन् । 

मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले रोग र कीराको प्रकोपबाट यस क्षेत्रका किसानले हैरानी बेहोर्नुपरेको बताए । कीरा प्रकोप नियन्त्रण गर्न किसानलाई प्राविधिक सेवा र विषादी नि:शुल्क उपलब्ध गराउँदै आएको उनले जानकारी दिए ।

त्यहाँका किसानले परम्परागत रुपमा लगाउँदै आएको मकैबालीमा कीराको आक्रमण बढी छ । जिल्लाको ज्यामरुकककोट क्षेत्रमा भने मकैका बोट उम्रन थालेदेखि नै कीराको आक्रमण बढेको र बोट जोगाउनै मुस्किल परेको किसानको भनाइ छ ।     
     
प्राय: सुक्खा मौसममा देखिने सो कीरा पछिल्लो समय वर्षा भइरहँदा पनि कीराको आक्रमण बढेको कृषि प्राविधिक बताउँछन् । कीराले मकैको पातमा लाम्चा आकारका झिल्लीमात्र छाडेर मकैको पातलाई कोतरेर खानाका साथै मकैको घोगा, पात, जुँगा र गुभोमा पनि क्षति पुर्‍याउने कृषि प्राविधिकले जनाएका छन् ।     
 

Skip This
Skip This
Logo