जाजरकोटको जुनिचाँदे-५ बलेपुइना नजिक जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।
घाइतेमध्ये पाँच जना गम्भीर रहेको र अन्य चार जना भने सामान्य घाइते रहको प्रहरीले जनाएको छ । शुक्रबार बिहान ८ बजे सुर्खेतबाट जाजरकोट जाँदै गरेको क ०२-००१ च ०३४१ नम्बरको जीप जुनिचाँदे ५ गर्खाकोट वडा कार्यालय नजिकको बलेपुइनामा दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी रामबाहादुर शाहीले जानकारी दिए । जीप सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको शाहीको भनाइ छ ।
यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले जीप दुर्घटनामा गम्भीर घाइते भएकाको हेलिकप्टरबाट उद्धार गरी उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल र जाजरकोटका प्रमुख जिल्ला अधिकारी शाहीलाई घाइतेको उद्धार र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
जाजरकोटका प्रजिअ शाहीले गृहमन्त्री खाणको निर्देशनपछि नेपाली सेनाको सुर्खेत कार्यालयसँग समन्वय गरी उद्धारका लागि हेलिकप्टर पठाएको जानकारी दिए ।





























प्रतिक्रिया