बैतडी र डोटी जिल्लाको ढुंगाडस्थित भत्केको झोलुङ्गे पुल खोल्न सुरु

बैतडी र डोटी जिल्लाको ढुंगाडस्थित भत्केको झोलुङ्गे पुल खोल्न सुरु


बैतडी र डोटी जिल्ला जोड्ने बैतडीको सिगास गाउँपालिका-५ ढुंगाडस्थित भत्केको झोलुंगे पुल खोल्न सुरु गरिएको छ । ३ कार्तिक ०७८ मा आएको बाढीले पुल भत्काएर नदीमै पुर्‍याएको छ । भत्केको पुलले नदीको पानी प्रवाहलाई रोक्न हुँदा गाउँलाई बाढीबाट जोगाउन पुल निकाल्न लागिएको हो । साथै भत्केकै पुलमा मानिसको आहोरदोहोर हुने हँुदा सम्भावित दुर्घटनाको जोखिमबाट बच्न भत्किएका समान निकाल्न लागिएको हो ।

स्थानीय सरकारको पहलमा सेती नदीमा अल्झिएको पुल खोल्ने काम भइरहेको सिगास गाउँपालिका–५ का वडाअध्यक्ष राजेन्द्र चन्दले बताए । पुलका सामान निकाल्न थालेपछि तत्कालै नयाँ पक्की पुल निर्माण गर्नु पर्ने उनले बताए । बैतडी र डोटी जोड्ने उक्त पुल भत्किएयता विद्यार्थी र स्थानीयबासीलाई आवतजावतमा निकै सास्ती भएको छ । बैतडीको ढुंगाडमा रहेको सारदा मावि र डोटीको आर्दशमा रहेको भगवती माविमा पढ्न जाने विद्यार्थी यही पुलको प्रयोग गर्थे । तर, पुल भत्केपछि उनीहरू अहिले जानआउनमै आठ घण्टा खर्चन बाध्य भएका छन् । यो पुल हुँदा करिब आधा घण्टा यात्रा गरे पुग्थ्यो । 

पुल नहुँदा दैनिक उपभोग्य वस्तु खरिद गर्न र डोटीको आर्दशबासीलाई गाडी भएको ठाउँसम्म पुग्न समस्या भएको छ । पुल नहुँदा वारिपारी जान कै लागि समेत दिनभर हिँडेर डडेल्धुराको बाटो यात्रा गर्नुपर्ने बाध्यता छ । ढुंगाडस्थित सेती नदीमा पुल निर्माणका लागि स्थानीयबासीले प्रदेश सरकार समक्ष माग गरेका छन् । बर्षातका बेला ढुंगाडमा ठुलो बाढी जाँदा स्थानीयबासी तीन दिनसम्म टापुमा थुनिएका थिए । भने, तीन सय बढी रोपनी जमिन बगरमा परिणत भएको थियो ।

उक्त ठाउँको अवलोकन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाड, मुख्यमन्त्री त्रिलोचन भट्ट पुगेका थिए । सरकारबाट ढुंगाडबासीले समस्या समाधान गर्ने आश्वासन पाए पनि अहिलेसम्म केही काम सुरू भएको छैन् । बाढी प्रभावित ढुंगाडबासीले सेती नदीमा परिपक्क तटबन्ध वा वस्ती स्थानान्तरणको माग गरेका छन् । 
 

Logo