सिद्धबाबाको वैकल्पिक सडक : २० करोड सकियो, काम अझै अलपत्र

सिद्धबाबाको वैकल्पिक सडक : २० करोड सकियो, काम अझै अलपत्र


सिद्धबाबा सडकखण्डको विकल्पको रुपमा निर्माण थालिएको झुम्सा-चरङ्गे सडकखण्ड पाँच वर्षदेखि अलपत्र परेको छ ।

निर्माण कार्य सुरु गरेको पाँच वर्षसम्म यसले गति लिन नसक्दा योजना नै अलपत्र परेको हो । यो सडकका लागि प्रदेश सरकारले सुरुदेखि नै बजेट छुट्टयाएपनि कामलाई तीव्रता दिन नसक्दा लामो समयसम्म सडक अलपत्र परेको हो ।

जिल्ला समन्वय समितिको स्थानीय स्रोत र साधन प्रयोग गरेर ट्रयाक खोलिएको सडकलाई लुम्बिनी प्रदेश सरकारले सिद्धबाबा सडकको वैकल्पिक मार्गको रुपमा प्रयोग गर्न करोडौं रकम खर्चिएको छ । २०७५ सालमै प्रदेश सरकारले यो सडकका लागि १० करोड रुपियाँ छुट्टयाएको थियो । त्यस्तै पाल्पाका सबै स्थानीय तहले पाँचदेखि ३० लाख रुपियाँसम्म बिनियोजन गरेका थिए । जिल्ला समन्वय समिति पाल्पाले ट्रायाक खोल्ने बेलाम नै एक करोड छुट्टयाएको थियो ।

चुरे क्षेत्रको संभाव्यता अध्ययनबिना सडक खन्दा, बजेट कम बिनियोजन हुँदा र चुरेमा सडक बनाउने तरिका नमिल्दा पाँच वर्ष बित्न लाग्दा वैकल्पिक सडक नै अलपत्र परेको हो । महाभारत श्रृंखला र चुरे पहाडमा सडक निर्माणका क्रममा संभाव्यता अध्ययनविना राजनीतिक दाउपेचको आधारमा एकाएक सडक निर्माण कार्यको सुरुवात गरिए पनि कमजोर भूबनोटका कारण पाँच वर्षको अवधिमा निर्माण कार्य पूरा हुन नसकेको हो ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा यो सडकका लागि सात करोड १६ लाख ५० हजार रकम विनियोजन गरेको छ । यो बजेट कामका हिसावले निकै कम रहेको प्राविधिकहरु बताउँछन् । तर, सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रको जोखिमयुक्त खण्डको वैकल्पिक मार्गको रुपमा निर्माणाधीन धागो कारखाना-चरङ्गे-झुम्सा सडकमा आवश्यक पर्ने पुल पुलेसा निर्माण तथा अन्य कार्य सम्पन्न गरी यातायात सञ्चालनयोग्य बनाउने कुरा प्रदेश सरकारले यसपटक पनि बजेट पुस्तिकामा समेटेको छ ।

भूगर्भविदको सुझावका कारण मुढाबास खण्डको साढे चार किलोमिटर स्थायी संरचना निर्माण कार्य यस वर्षका लागि रोकिएको रुपन्देही सडक पूर्वाधार कार्यालयका इन्जिनियर ललित न्यौपानेले बताए । हालसम्म रुपन्देही खण्डको १३ किलोमिटर खण्डमा सडक, पुल, कल्भर्ट निर्माणका क्रममा २० करोड रुपियाँ खर्च भएको छ । मुढाबास खण्डमा अर्को वर्षबाट बल्ल स्थायी संरचना निर्माणको काम सुरुवात हुनेछ । 'मुख्य समस्या नै यहाँ पहिरोको हो, त्यसैले कहिले सम्पन्न हुन्छ, यकिन भन्न सकिंदैन,' न्यौपानेले भने ।

चरङ्गेदेखि साढे आठ किलोमिटर सडक भने राम्रो छ । यसमा ग्राभेलको काम पनि सकिएको छ । 'समस्या भनेको साढे चार किलोमिटरको हो,' न्यौपानेले भने । सडक कार्यालय पाल्पाका प्रमुख अरुणकुमार गुप्ताका अनुसार पाल्पा खण्डमा पुल, कल्भर्ट र सडक ग्राभेल गर्दासम्म १० करोड ११ लाख ८६ हजार रुपैयाँ खर्च भएको छ । झुम्सा चौकीभञ्ज्याङ चरङ्गे वैकल्पिक मार्गको लम्बाई करिव २० किलोमिटर छ ।

Logo