पहिरोले अवरुद्ध बेसिसहर-डुम्रे सडकको उदिपुर खण्डमा वैकल्पिक सडक बनाइँदै

पहिरोले अवरुद्ध बेसिसहर-डुम्रे सडकको उदिपुर खण्डमा वैकल्पिक सडक बनाइँदै

केन्द्रबिन्दु
0
Shares

लगातारको वर्षापछि आएको पहिरोका कारण डुम्रे-बेँसीसहर सडकखण्डअन्तर्गत उदिपुर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक सडक निर्माण सुरु गरिएको छ ।

शनिबार साँझदेखि लगातार परेको वर्षाका कारण सडकखण्ड अवरुद्ध भएको थियो । बेँसीसहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । गत वर्ष पनि उक्त ठाउँमा पहिरो गएको थियो । पहिरोको सडक मंगलबार दिउँसो १ बजेसम्म मर्मत सक्ने तयारी भइरहेको डुम्रे-बेसीसहर-चामे सडक योजना प्रमुख अच्युतविलास पन्तले बताए ।

उनका अनुसार सेनाको चण्डीप्रसाद गण जाने गेटबाट गण प्रवेश गर्ने सडक प्रयोग गरी पहिरोको फेद मर्स्याङ्दी नदी किनारबाट पहिलेको सडक भएको ठाउँबाट रिट्ठेबगर हुँदै उदिपुर भएर यो सडक प्रयोगमा आउनेछ । त्यसपछि सबैखाले सवारीसाधन सञ्चालन गर्न सकिनेछ । पहिरो खस्न नदिन जालीहरू प्रयोग गर्ने, एउटा भ्याकुलोडर स्टेन्डबाइ राख्ने सडक कार्यालयले जनाएको छ ।

पहिरोमा दीर्घकालीन काम गर्न सडक निर्माणका लागि असारमा निर्माण कम्पनीसँग सम्झौता हुने कार्यालयले जनाएको छ । हाल बेसिसहर-डुम्रे सडकखण्डको उदिपुरबाट ठूला सवारीसाधन आवतजावत गर्न पाएका छैनन् । साना सवारीसाधन भने उदिपुर-१ धिमिरे गाउँ हुँदै आवतजावत गरेको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।

Logo