साउनमा किन सजिन्छन महिलाहरु चुरा, मेहेन्दि र पहिरनमा ? यस्तो छ कारण ?

साउनमा किन सजिन्छन महिलाहरु चुरा, मेहेन्दि र पहिरनमा ? यस्तो छ कारण ?

केन्द्रबिन्दु
0
Shares

साउन महिनामा महिलाहरु बाटो , बजार ,गाउँ , सहर सबैतिर हरियो, रातो , पहेँलो रंगका चुरा, कपडा , पोते, हातभरी मेहेन्दी लगाएर सजिएको देखिन्छ । बाटोमा हिन्दा होसा या हाट बजारमा महेन्दी र चुरामा सजिएका महिलाहरुको बाक्लो उपस्थिति हुने गर्छ । यतिमात्र होइन खेत बारीको काम गर्दा समेत यस्तो सजावटमा महिलाहरु देखिने चलन परापुर्वकाल देखि नै चलिआएको छ । 

हुन त साउनमा महिलाहरु यसरी देखिनु कुनै नौलो दृश्य हैन किन कि यो हाम्रो परमपरादेखि चलिआएको चलन हो । हिन्दु  समुदायमा साउन महिनालाई संस्कृतिले भरिएको महिना भनेर चिनिन्छ किन कि महिलाहरुले साउन महिनाभरि सोमबारको ब्रत लिन्छन र धार्मिक क्रियाकलापमा धेरै सरिक हुने गर्छन् । 

किन रंंगमा सजिन्छन् हिन्दु महिलाहरु ?
साउनमा रातो,हरियो, पहेँलो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरणको प्रतीक मानिन्छ भने रातोलाई सौभाग्यको एवं पहेँलोलाई पवित्रताको प्रतीक मानिन्छ । यसकारण पनि साउन महिनामा हरियो, पहेँलो र रातो सम्मिश्रण गरी लगाउने चलन बसेको संस्कृतिविद्हरुको भनाई छ । चुरापोते र कपडासँगै साउन महिनामा हातभरि मेहेन्दी लगाउने चलन पनि छ । पहिले गाउँघरमा मेहन्दी पाइँदैन थियो । मेहन्दी लगाउने चलन पनि थिएन । महिलाहरूले आँगन र बारी जताततै पाइने तिउरे फूलको पात हत्केलामा पिसेर दल्ने गर्दथिए । असारभरि खेतको बाली नालीमा काम गर्दा हिलोले हात खाने र हातको छाला फुटेको हुनाले त्यसलाई छोप्न महिलाहरुले हातभरि तिउरे दलेर छोप्ने गर्दथे । हत्केलामा जति बढी गाढा रङ बस्यो , उति नै बढी श्रीमानले माया गर्छन् भन्ने धार्मिक विश्वास रहिआएको छ । अहिले तिउरेको सट्टा सजिलो उपाय मेहेन्दि भएको छ । 

कतिपयले हरियो चुरा लगाइसकेपछि चुकाउनु या फुटाउनु हुँदैन भनेर यो महिनाभर होसियारी अपनाउनु पर्छ भन्छन किनकि चुराले सुहागन जनाउने विस्वास छ । साउनमा कहिल्यै हरियो चुरा नलगाउने नारीले समेत चुरा लगाएर बजाउँदै हिँड्दा खुब सुहाएको र रमाइलो देखिन्छ । नारीहरूमा यो महिना चुरा लगाउने सोख र होड चलेपछि चुरा पसलेहरु मख्ख छन । विवाहितले पतिको सुस्वास्थ्य एवं दीर्घायु र अविवाहितले सुयोग्य सुहागनको कामना गर्दै व्रत बस्ने चलन छ । यस महिनामा विशेष गरी प्रत्येक सोमबार महिला व्रत बस्छन् । नेपाली हिन्दू नारीले विशेष गरेर साउनलाई हर्षोल्लास अनि भक्तिको महिनाका रुपमा मनाउने प्राचीनकालदेखिको परम्परा अझै पनि बढ्दो देखिन्छ । 

भगवान शिवलाई माता पार्वतीले साउन महिनामा कठोर ब्रत बसि प्रसंन बनाएको भगवद् गितामा उल्लेख छ । शिव र पार्वतीको जस्तो पवित्र सम्बन्धको कामना सहित पनि साउनमा सोमबारको ब्रत बस्ने चलन छ । सोमबारको ब्रत लिने त्यति सजिलो भने छैन । यसका नियमहरु समुदायको आस्था र विस्वास अनुसारको फरक हुने गर्दछ । हरियो,पहेंलो र रातो रंगका कपडा पहिरेर हिन्दुहरु शिवको पूजापाठ, आराधना र भक्तिभाव प्रकट गर्न शिव मन्दिर , बोलबम तीर्थयात्रा गर्ने परम्पराले हिन्दू धर्मको महिमा अझै बढाएको छ ।

Logo