अन्तिमपटक भिरकट्यामा देखिएकी थिइन् भागरथी, अनुसन्धानमै प्रहरी

अन्तिमपटक भिरकट्यामा देखिएकी थिइन् भागरथी, अनुसन्धानमै प्रहरी


बलात्कारपछि हत्या गरिएकी भागरथी भट्ट अन्तिमपटक खोचलेक बजारनजिकै रहेको भिरकट्यामा देखिएकी थिइन्। कक्षा १२ मा पढ्ने उनी माघ २१ गते सनतान धर्म माविबाट पौने २ बजे घरतिर लागेकी थिइन्। सँगै आएका साथीमध्ये चडेपानीकै भानदेव भट्ट खोचलेक बजारमा कपाल काट्न भन्दै सैलुनतिर गए। भागरथी बाटामा पर्ने एउटा पसलमा चाउचाउ किनेर बाँकी साथीसँगै भिरकट्या पुगिन्। त्यहाँ चाउचाउ खाइसकेपछि त्यहाँबाट अरू छुट्टिए। भिरकट्यामा बसेर उनले चाउचाउ खाएकोसम्म देखेको स्थानीयले बताएका छन्। त्यसपछि भने उनलाई देख्ने कोही नभेटिएको जनाइएको छ।

भिरकट्याबाट हत्या भएको ठाउँसम्म भागरथी कसरी पुगिन् भन्ने अझै खुलिसकेको छैन। अपराधीले अपहरण गरेर बलात्कारपछि हत्या गरेको हो वा अपराधीले पिछा गर्दै जंगलनजिक बाटोबाट तल लगेर बलात्कार हत्या गरेको हो भन्ने प्रश्न अझै अनुत्तरित छन्। करिब डेढ साताको अनुसन्धानमा प्रहरीले पनि यही पाटो खोजिरहेको छ। नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका प्रवक्ता वरिष्ठ प्रहरी उपरिक्षक मुकेश सिंहले दोषी पक्राउ परेपछि मात्र यी सबै कुरा खुल्ने बताए। ‘हामीले केही व्यक्तिलाई निगरानीमा राखेका छौं,’ उनले भने, ‘तथ्य र प्रमाणबाट पुष्टि गरेर तिनीहरू पक्राउ परेपछि सबै कथा खुल्नेछ।’

भिरकट्याबाट उकालो हिँडेर डाँडामा पुगेपछि सुरु हुने कच्ची बाटो हुँदै भागरथीको घर भएको चडेपानी गाउँ पुगिन्छ। बीचमा सिल्ल गाउँ पर्छ। त्यसपछि घटनास्थल लबलेक सामुदायिक वन आउँछ। मान्छे ओहोरदोहोर भइरहने यो बाटोमा भागरथीलाई देख्ने प्रत्यक्षदर्शी भेटिएका छैनन्। ‘भिरकट्यापछि बहिनीलाई देख्ने कोही भेटिएको छैन,’ भागरथीकी दिदी पार्वतीले भनिन्, ‘त्यहीँबाट अपहरण गरेर बलात्कार र हत्या गरेको भन्ने आशंका पनि छ।’

माघ २१ गते विद्यालयबाट घर फर्कंदा भरिकट्यामा देखिएपछि सम्पर्कविहीन भएकी भागरथी दोस्रो दिन साँझ ५ बजे मृत अवस्थामा भेटिएकी थिइन्। बुधबार करिब पौने ३ बजेतिर भागरथीको मोबाइल स्विच अफ भएको प्रहरीले बताएको छ। शव फेला परेकै स्थानमा बलात्कारपछि भागरथीको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ। कच्ची बाटोबाट भागरथीलाई घिसार्दै करिब ५० मिटर तल लगेको प्रहरीको भनाइ छ। पोस्टमार्टम रिपोर्टले पनि बलात्कारपछि हत्या भएको देखाएको छ।  

दोगडाकेदार गाउँपालिकाको केन्द्रसमेत रहेको खोचलेक बजार महाकाली राजमार्गको सतबाँझ–दार्चुला सडकखण्डमै पर्छ। त्यहाँ सधैं चहलपहल भइरहन्छ। भागिरथी पढ्ने विद्यालयबाट ५ मिनेटको दूरीमा रहेको खोचलेक बजारबाट करिब ३ मिनेटमा भिरकट्या पुगिन्छ। त्यहाँसम्म जाने बाटो तेर्सो छ। त्यहीँबाट ग्रामीण सडक उकालो लाग्छ। लबलेक जंगल हुँदै भागरथीको शव भेटिएको ठाउँसम्म सोही सडक जोडिएको छ। शव भेटिएको ठाउँ हेर्दा दिउँसै बलात्कारपछि हत्या हुन सक्ने ठाउँ नभएको स्थानीय बलदेव भट्ट बताउँछन्। चढेपानीका स्थानीय सोही सडक हुँदै आवतजावत गर्ने भएकाले सोही स्थानमा दिउँसो बलात्कारपछि हत्या हुन सक्नेमा विश्वस्त हुन सकेका छैनन्। दिनभरि अन्यत्र राखेर रातको समयमा यहाँ हत्या भएको हुन सक्ने अनुमान केही स्थानीयले गरेका छन्।

प्रहरीले पनि शव भेटिएको दिनदेखि घटनालाई संवेदनशील रूपमा लिएर अनुसन्धान थालेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख आफैं अनुसन्धानमा खटिएका छन्। प्रदेश प्रहरी प्रमुख उत्तमकुमार सुवेदीका अनुसार फराकिलो घेराबाट थालिएको अनुसन्धान साँघुरो घेरामा आइपुगेको बताए। अनुसन्धान हत्याराको नजिकसम्म पुगेकाले छिट्टै सार्वजनिक गरिने उनले बताए। हत्याराले चलाखी गरेकाले प्रहरीलाई पत्ता लगाउन सयम लागेको उनको भनाइ छ।

लामो समय गुज्रिसक्दा पनि अनुसन्धान टोली अपराधीसम्म नपुगकाले स्थानीय भने सशंकित छन्। कतै अपराधी उम्कने त होइन भन्दै उनीहरूमा चिन्ता छाएको छ। विगतमा पनि सो ठाउँमा भएका घटनामा अपराधी पक्राउ नपरेकाले यो घटना पनि त्यस्तै रूप लेला कि चिन्तामा स्थानीय रहेको हरि भट्टले बताए। प्रहरीले भागरथीको मोबाइलको कल डिटेल, सामाजिक सञ्जालमा जोडिएका र त्यो बाटो हुँदै आवतजावत गर्ने धेरैजनासँग सोधपुछ गरिसकेको बताइएको छ। यो क्रम अझै जारी छ। मोबाइलको फरेन्सिक जाँच र घटनास्थलमा फेला परेका रगतलगायत प्रमाणको जाँच गर्न प्रहरीको विधिविज्ञान प्रयोगशाला पठाइएको छ।

चिनजानकै व्यक्तिबाट भागरथीको बलात्कारपछि हत्या भएको हो भन्नेमा प्रहरी अलमलमा छैन। अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘हत्याका लागि बाहिरबाट कोही आउनेतिर हामीले सोचेकै छैनौं। भागरथीलाई एकोहोरो पिछा गर्ने मान्छेतिरै हाम्रो अनुसन्धान पुगेको छ।’नागरिकबाट

Logo