नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा विभागीय टोली नेपाल पुलिस क्लवले स्वर्ण पदक हात पारेको छ । शुक्रवार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा अर्को विभागीय त्रिभूवन आर्मी क्लवलाई ८ विकेटले पराजित गर्दै पुलिसले स्वर्णपदक हात पारेको हो ।
वर्षाको कारण ८ ओभरमा छोट्याइएको खेलमा त्रिभूवन आर्मी क्लवले दिएको १०४ रनको लक्ष्य पुलिसले ६ दशमलब ५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पुलिसको जितमा कुशल भुर्तेलले १९ बलमा ३ चौका र ६ छक्काको मद्दतले ५१ रनको अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै सुनिल धमलाले १७ बलमा २ चौका र ४ छक्काको सहयोगमा ४२ रन बनाए । आर्मीका लागि जितेन्द्र मुखिया र सुशन भारीले समान १-१ विकेट लिए ।
पहिला ब्याटिङ गरेको आर्मीले ८ ओभरमा ७ विकेट गुमाउँदै १ सय ३ रन बनाएको थियो । उसका लागि कप्तान विनोद भण्डारीले १४ बलमा ३ चौका र ४ छक्काको मद्दतले ४० रन बनाए । रोहितकुमार पौडेलले १० बलमा ४ छक्काको मद्दतमा २८ रन बनाए । कुशल मल्लले १३ तथा भीम सार्कीले ११ रन बनाए ।
पुलिसका लागि ललित राजवंशी तथा गुल्सन झाले समान २-२ तथा कप्तान दीपेन्द्र सिंह ऐरी र रशिद खानले समान १-१ विकेट हात पारे ।
यस जितसँगै पुलिसले आर्मीसँग समूह चरणमा व्यहोरेको हारको बदला पनि लिएको छ ।
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ ।































प्रतिक्रिया