कति बस्नु पर्छ सन्दीपले हिरासतमा ?

कति बस्नु पर्छ सन्दीपले हिरासतमा ?

केन्द्रबिन्दु
0
Shares

बलात्कारको आरोप खेपिरहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेको खबर भुसको आगो जसरी फैलियो । 

नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउँदै गरेका एकमात्रै क्रिकेटरको गिरफ्तारीको खबर नफैलने कुरा पनि भएन । एक कान दुई कान मैदान हुँदै नेपाल र नेपाली क्रिकेटरलाई माया गर्नै जो कोहीले थाहा पाए । प्रहरीमा जबरजस्ती करणीको जाहेरी परेसँगै सन्दिप लामिछानेको जम्जमाउँदो करिअरमा कालो बादल छाएको छ। गम्भीर आरोपमा मुछिएको हुँदा मुद्दा किनारा नलागेसम्म उनको करियर धरापमा परेकाे छ ।

लामिछाने सानै उमेरमा क्रिकेटमा ख्याती कमाउन सफल भएका एक नामी व्यक्ति हुन् । लामिछाने भदौ ६ गते टी-२० सिरिज खेल्न केन्या पुगेका थिए । केन्यामा ५ खेलको टी २० खेलेपछि उनी क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इण्डिज गएका थिए । नाबालिगमाथि करणीको जाहेरीका आधारमा सन्दिप बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । कतारको दोहाबाट बिहान एघार बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिए लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो । 

गत बुधबार फेसबुकमा स्टेटस लेख्दै उनले असोज २० गते नेपाल आउने बताएका थिए । गत भदौ ५ गते १७ वर्षिया बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत गौशालामा सन्दिप विरुद्ध जाहेरी परेको थियो । त्यसलगत्तै प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरी सन्दिपको खोजतलास सुरु गरेको थियो । तर जतिबेला सन्दीपविरुद्ध जाहेरी परेको थियो त्यतिबेला उनी जमाइका क्यारेबियन प्रिमियर लीग खेल्न पुगेका थिए । 

तर आफूविरुद्ध जबरजस्ती करणीको जाहेरी परेपछि सन्दिप लीग छोडेर निस्किएका थिए । जमैका छाडेपछि सन्दिप कहाँ गए भन्ने पत्ताे थिएन । लामो समयसम्म पनि प्रहरीको सम्पर्कमा नआएपछि नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा उनी विरुद्ध 'डिफ्युजन नोटिस' जारी गरेको थियो । डिफ्युजन नोटिस त्यस्तो नोटिस हो जहाँ इन्टरपोलमा संलग्न भएका देशले खोजिएका व्यक्ति आफ्नो देशमा भए नोटिस जारी गर्ने देशमा फिर्ता पठाइ दिनुपर्छ । जमैकाबाट कतार आइपुगेका सन्दीप केही दिन कतारमै बसेका थिए । कानुनी परामर्श लिएर सन्दीप बिहीबार नेपाल फर्किएका थिए । 

बिहीबार पक्राउ परे लगत्तै सन्दीपलाई प्रहरी वृत्त गौशालामा लगिएको छ । यतिखेर लामिछाने प्रकरण के हुने भन्दै चौतर्फी कौतुहलता जागेको छ । थुप्रै नागरिकहरु कोही किशोरीको पक्षमा त कोही लामिछानेको पक्षमा सामाजिक सञ्जालमा फरक-फरक खालका धारणा राखीरहेका छन् । टिकाटिप्पणी गर्नेमध्ये कतिपयले सन्दिपलाई फसाउने खेल भइरहेको भन्दै ढाकछोप गरिरहेका छन्, भने कतिपयले लामिछानेले गल्ती गरेको कारण सजायको भागिदार हुने तर्क गरिरहेका छन् । बाहिर जे जति हल्ला चलेपनि सन्दिपको मुद्दा अदलालतबाट टुंगिनेछ । 

गिरफ्तार लगत्तै प्रहरीले गौशाला नजिकैको एक निजी अस्पतालमा लगेर सन्दीपको स्वास्थ्य परीक्षण गराएको छ । स्वास्थ्य परीक्षणमा सबै कुरा सामान्य आएमा प्रहरीले सन्दीपसँग बयान लिन सुरु गर्नेछ ।फौजदारी कसुरमा अनुसन्धानका लागि प्रहरीले २४ दिनसम्मको समय पाउनेछ । तर त्यसका लागि अदालतबाट म्याद लिनुपर्ने हुन्छ । पक्राउ गरी अनुसन्धान गर्नप्रहरीले यसअघि नै काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिइसकेको छ । 

बिहीबार सन्दीप पक्राउ परे लगत्तै अब प्रहरीले २४ घण्टाभित्र अदालतबाट अनुसन्धानका लागि म्याद लिनुपर्ने छ । तर म्याद थप गर्ने प्रयोजनका लागि अदालत असोज २४ गते सोमबार मात्रै खुला हुनेछ । बन्दी प्रत्यक्षीकरणका लागि उच्च र सर्वोच्च अदालत तथा पक्राउ पुर्जी लिने प्रयोजनका लागि काठमाडौँ जिल्ला अदालत खुला रहेको भए पनि म्याद थप गर्नका लागि भने असोज २४ गते सोमबार अर्थात् पूर्णिमाको भोलिपल्टसम्म कुर्नुपर्ने हुन्छ । 

सामान्यता जबरजस्ती करणीजस्तो गम्भीर फौजदारी जाहेरीमा अनुसन्धानका लागि पहिलो पटक १० दिनको समय दिने गरिन्छ । त्यसपछि सात दिन र त्यसपछि पनि अनुसन्धान नसकिएमा अर्को सात दिन वा पाँच दिनको समय अदालतले दिने गरेको छ । पक्राउ परेको मितिले २४ दिनसम्म अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ र २४ औँ दिन सार्वजनिक बिदा परेमा त्यसपछि अदालत खुलेको दिन अदालतमा मुद्दा दर्ता गरिसक्नु पर्नेछ । 

प्रहरीमा जाहेरी परेको कारण अब प्रहरीले सन्दीपसँग बयान लिई सन्दीपले अन्य कुनै व्यक्तिको नाम लिएमा ती व्यक्तिहरुसँग पनि बयान लिन वा बुझ्न सक्नेछ । अभियोग पुष्टि हुने आधार र प्रमाण भएमा प्रहरीले अदालतबाट पाएको म्यादभित्रै अनुसन्धान सकी कुन कानुनको कुन दफा लगाएर मुद्दा दर्ता गर्नुपर्ने हो सो को रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउनेछ । त्यसपछि सरकारी वकिलले सरकारवादी मुद्दा बनाएर अदालतमा मुद्दा दर्ता गर्नेछ । 

काठमाडौँ जिल्ला अदालतको कार्यक्षेत्रमा कसुर भएको भनी जाहेरी परेकाले काठमाडौँ जिल्ला अदालतमै उक्त मुद्दा दर्ता हुनेछ । जाहेरीमा जबरजस्ती करणीको कसुर गरेको भनी उल्लेख गरेकाले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ अनुसारको कसुर गरेको अभियोगमा सन्दीपविरुद्ध मुद्दा दर्ता हुन सक्नेछ । दफा २१९ को उपदफा २ अनुसार नाबालिगमाथि जबरजस्ती करणी गरेको कसुरमा सन्दीपमाथि मुद्दा दर्ता हुन सक्नेछ । 

जाहेरी दिने नाबालिगको उमेर १७ वर्ष रहेको भनिएको छ र १७ वर्ष उमेर निश्चित भएमा सन्दीपमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा ३ घ अनुसार सजायको मागवादी गर्दै मुद्दा दर्ता हुनेछ । दफा २१९ को उपदफा ३ घ मा पीडित नाबालिगको उमेर १६ वर्षभन्दा माथि र १८ वर्षभन्दा कम उमेरको भए १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । 

साथै सोही संहिताको दफा २२८ मा क्षतिपूर्ति भराउने व्यवस्था समेत रहेको छ । सोही व्यवस्थालाई हेर्दा पीडकबाट पीडितलाई क्षतिपूर्ति भराउने सम्बन्धमा पनि वादीले मागदाबी लिन सक्नेछ । यसरी अभियोग पत्रका साथ अदालतमा मुद्दा दायर भएपछि अदालतमा आरोपितलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्ने वा थुना बाहिर राखेको मुद्दाको पुर्पक्ष गर्ने भन्दै थुनछेक बहस हुनेछ । 

यस्तो बहसमा अभियोग पत्रमा उल्लेख भएको आरोपको अवस्था, प्रमाण, अभियोग दाबी पुग्दा हुने सजाय आदिलाई मध्यनजर गरेर अदालतले थुनामै राख्ने वा थुना बाहिरबाट मुद्दाको पुर्पक्ष गर्ने भन्दै आदेश दिनेछ । सामान्यतः अभियोगलाई पुष्टि गर्न सक्ने सामान्य आधार वा प्रमाण देखिए पनि यस्तो मुद्दामा आरोपितलाई थुनामुक्त गर्ने गरिएको छैन ।

सन्दिपमाथि अहिले आरोपमात्रै लगाइएको हो,अनुसन्धानको सिङ्गै प्रक्रिया बाँकी नै छ । अदालत र अनुसन्धानमा खटिएका प्रहरीले यथार्थ के हो पत्ता लगाउने नै छन् ।

Logo