बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंले २० गतेबाट गणना हुने गरी ७ दिनका लागि म्याद थप गरेको समय सकिएपछि पुनः थप ५ दिन अनुसन्धानका लागि समय उपलब्ध गराएको हो ।
गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरी गत सोमवार अदालतमा उपस्थित गराएको थियो । अदालतमा उपस्थित भएसँगै लामिछानेलाई ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिइएको थियो ।
अनुसन्धानको काम नसकिएकाले नेपाल प्रहरीले थप ७ दिनको समय माग गरेपनि अदालतले आज (बिहीवार) थप ५ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए । उनले अदालतले बयान लिने क्रम आधा सकिसकेको भन्दै असोज ३१ गतेसम्म अनुसन्धान सक्नेमा विश्वस्त रहेको बताए ।
उनले भने, ‘अनुसन्धान गर्न ७ दिनको म्याद माग्नुभएको थियो । पक्राउ परेको दिनबाट ७ दिन गइसकेको छ, बयान लिने क्रम पनि आधा सकिसकेको छ । ७ दिन धेरै लामो हुन्छ, यो एउटा व्यक्तिसँग मात्र नभइ संस्थासँग सम्बन्धित मुद्दा छ, यस्तो मुद्दालाई अलि फास्टट्रयाकमा गम्भीरताका साथ लिएर काम सक्नुपर्ने भन्यौँ । अनुसन्धानमा लामो समय लिनु भनेको प्रहरीका लागि पनि नराम्रो कुरा हो । हामीले ३ दिनको माग गरेका थियौँ । सूर्यबहादुर थापाको बेन्चले ५ दिनको समय थपेको छ । कार्तिक १ गते फाइल पेस गर्ने वा म्याद थपको लागि पुनः पेस गर्न सकिन्छ ।’
अधिवक्ता घिमिरेले पीडित भनिएकी किशोरीको दुई वटा जन्मदर्ता भएको विषयमा आफूहरुले अनुसन्धान गरिरहेको बताउँदै भने, ‘हामीले दुई वटा जन्मदर्ता भएको भन्ने बारेमा अध्ययन गरिरहेका छौँ, हामीले अहिले बोल्न मिल्दैन ।’
१७ वर्षकी किशोरीले बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि सन्दीपलाई असोज २० गते नेपाल आएलगत्तै विमानस्थलबाट नै पक्राउ गरिएको थियो । काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् ।





























प्रतिक्रिया