नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको स्वर्ण पदकका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लव र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
फाइनल मंगलबार पोखरा रंगशालामा हुनेछ । मंगलबार नै बाग्मती प्रदेश र लुम्बिनी प्रदेशबीच कास्य पदकका लागि पनि प्रतिस्पर्धा हुनेछ ।
ज्योती पाण्डेको अविजित ६९ रनको सहयोगमा एपीएफले लुम्बिनी प्रदेशलाई ६७ रनले पराजित गर्दै फाइनल प्रवेश गर्यो । १३० रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ६२ रनमा समेटियो ।
लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको एपीएफले निर्धारित ओभरमा १२९ रनको योगफल तयार पारेको थियो । ओपनर पाण्डे ६१ बलमा ६९ रनमा अविजित रहिन् । उनले ७ चौका प्रहार गरिन् । सशस्त्र प्रहरीले २० रनको योगफल बनाउँदा पहिलो विकेटको रुपमा सीता राना मगरलाई गुमाएको थियो । मगरले ११ रन जोडिन् । कृतिका मरासिनीले दुई विकेट लिइन् ।
१३० रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ६२ रनमा समेटिएको थियो । सुस्मिता बजगाईंंले सर्वाधिक १२ रन बनाएको लुम्बिनीको इनिङ्समा एपीएफका बलरले २० रन अतिरिक्त उपहार दिएका थिए । अन्य व्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । नेरी थापाले ४ ओभरमा ७ रन खर्चिंदै ४ विकेट लिइन् ।
दोस्रो खेलमा टस हारेर व्याटिङ गरेको नेपाल पुलिस क्लवले बाग्मती प्रदेशलाई ३६ रनले पराजित गर्दै फाइनल स्थान पक्का गर्यो । नेपाल पुलिसले ४ विकेटको क्षतिमा १२३ रनको योगफल तयार पारेको हो ।
ओपनर काजल श्रेष्ठले ५१ बल खेल्दै ५ चौकासहित ४६ रनको योगदान दिइन् । कविता कुँवरले २६ रन जोडिन् । पहिलो विकेटको लागि नेपाल पुलिसले ७० रनको महत्वपूर्ण साझेदारी निभाए । कप्तान रुबिना क्षेत्रीले १७ र कविता जैसी १५ रन जोडिन् ।
१२४ रनको लक्ष्य पछ्याएको बाग्मती प्रदेश ८७ रनमा समेटियो । बाग्मतीका लागि सुमन खतिवडाले सर्वाधिक २३ रन बनाइन् । कविता कुँवरले ४ ओभरमा ६ रन दिएर ३ विकेट लिइन् । ईश्वरी बिष्टको नाममा २ विकेट रह्यो ।































प्रतिक्रिया