पाकिस्तानले आइसिसी टि२० विश्वकपमा पहिलो जित हात पारेको छ । आइतबार भएको खेलमा नेदरल्यान्ड्समाथि पाकिस्तानले ६ विकेटको जित निकालेको हो ।
जितका लागि ९२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १३.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्न सफल भएको हो । पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवानले सर्वाधिक ४९ रन जोडे । त्यस्तै, फखरजमानले २० रन बनाए भने कप्तान बाबर अजाम ४ रनमै रनआउट भए ।
नेदरल्यान्ड्सका बा्रण्डन ग्लोभरले २ विकेट लिए ।
त्यसअघि पर्थमा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९१ रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि कोलिन एकरम्यानले सर्वाधिक २७ रन बनाए । त्यस्तै, कप्तान स्कर्ट एडवार्ड्सले १५ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् ।
पाकिस्तानका लागि शादब खानले ३ विकेट लिए । त्यस्तै, मोहम्मद वासिम जुनियरले २ विकेट लिए भने शाहिन शाह अफ्रिदी, हरिस रौफ र नसिम शाहले एकएक विकेट लिए ।
पाकिस्तान पहिलो खेलमा भारतसँग चार विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा जिम्बावेसँग एक रनले स्तब्ध भएको थियो । यस हारले पाकिस्तानको सेमिफाइनलको यात्रा भने सहज छैन । उसले अब दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्न बाँकी छ ।
सुपर १२ को समूह बी मा भारत सुरुवाती दुई खेलमा विजयी हुँदै ४ अंकका साथ शीर्षस्थानमा छ । आज उसले दक्षिण अफ्रिकासँग खेल्दैछ । यस खेलमा भारतले अफ्रिकालाई हराउँदा पाकिस्तानलाई थप सहज हुनेछ । तर, अफ्रिका पनि आजको खेलमा जित हात पार्दै सेमिफाइनलको सम्भावना बलियो बनाउन चाहन्छ । पहिलो खेलमा शानदार जित हात पारेको अफ्रिकाले दोस्रो खेलमा वर्षाका कारण अंक बाँडेको थियो ।





























प्रतिक्रिया