प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबले विजयी सुरुवात गरेका छन् । पुलिसले बाग्मती प्रदेशलाई १९२ रन र एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ५६ रनले पराजित गरे ।
मुलपानी क्रिकेट मैदानमा पुलिसले दिएको २९० रनको लक्ष्य पछ्याएको बाग्मतीले २८ ओभरमा अलआउट हुँदै ९७ रन मात्र बनाउन सक्यो । बागमतीका इशान पाण्डेले सर्वाधिक २४ रन बनाए । रामनरेश गिरीले अविजित २२, प्रतीस जिसीले १४ र नन्दन यादवले १० रन बनाए । अन्यले दोहोरो अंक छुन सकेनन् ।
बाग्मतीलाई सस्तैमा समेट्न पुलिसका दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । करण केसी, गुलसन झा र सागर ढकालको नाममा २-२ विकेट रह्यो ।
त्यसअघि पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २८९ रन बनाएको थियो । पुलिसका लागि दीपेन्द्र सिंह ऐरीले १०८ रन बनाए । ८२ बलको सामना गरेका ऐरीले ११ चौका र ४ छक्का प्रहार गरे । कुशल भुर्तेल र सुनिल धमलाले समान ३७ रन जोड्दा आरिफ शेखले ३६ रन बनाए । बाग्मतीका नन्दन यादवले २ विकेट लिए ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफले दिएको २२० रनको लक्ष्य पछ्याएको आर्मी ३२.१ ओभरमा १६३ रनमा अलआउट भयो । १४३ रन जोड्दा चौथो विकेट गुमाएको आर्मीले थप २० रन जोड्न ६ विकेट खर्चेको थियो । चौथो विकेटका लागि हरि चौहान र रोहित पौडेलले १०१ रनको साझेदारी गर्दै आर्मीको आशा जगाएका थिए । चौहान ६५ र पौडेल ५१ रनमा आउट भए । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । आर्मीलाई सस्तैमा समेट्न अमर रौउटेलाले ४, कमल ऐरीले ३ र किशोर महतोले २ विकेट झारे ।
त्यसअघि पहिला ब्याटिङ गरेको एपीएफले ४७.४ ओभरमा अलआउट हुँदै २१९ रन बनाएको थियो। प्रदिप ऐरीले ७१ र सन्दीप जोराले ५० रन बनाए । भुवन कार्की २६ र कप्तान शरद भेषवाकर १६ रनमा आउट हुँदा अमर रौटेला १० रनमा अविजित रहे । आर्मीका विक्रम सोबले ४ विकेट लिए । शाहब आलम र कुशल मल्लका नाममा २-२ विकेट रह्यो ।
प्रतियोगितामा सोमबार नेपाल पुलिस र प्रदेश १ तथा सुदूरपश्चिम र गण्डकी प्रदेशबीच खेल हुनेछ ।





























प्रतिक्रिया