अष्ट्रेलियाको साँघुरो जितले न्युजिल्यान्ड सेमिफाइनलमा

अष्ट्रेलियाको साँघुरो जितले न्युजिल्यान्ड सेमिफाइनलमा

केन्द्रबिन्दु
0
Shares

अष्ट्रेलियाले आइसिसी टि२० विश्वकपमा अफगानिस्तानमाथि रोमाञ्चक जित निकालेको छ । शुक्रबार घरेलु मैदानमा भएको खेलमा अष्ट्रेलियाले अफगानिस्तानमाथि चार रनको साँघुरो जित हात पारेको हो । 

जितको लागि १६९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६४ रनमै समेटियो । अफगानिस्तानका राशिद खानले आक्रामक ब्याटिङ गरेपनि जित दिलाउन भने सकेनन् । छक्का र चौकाको वर्षा गरेका उनी सर्वाधिक ४८ रनमा अविजित रहे ।
 
त्यस्तै, गुल्बादिन नाइबले ३९ रन, रहमानउल्लाह गुर्बाजले ३० रन तथा इब्राहिम जाड्रनले २६ रन जोडे । 

बलिङतर्फ अष्ट्रेलियाका अष्ट्रेलियाका जोश हेजलवुड र एडम जाम्पा समान २/२ विकेट लिए  भने केन रिचार्डसनले एक विकेट लिए । 

त्यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६८ रन जोडेको थियो । अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले अर्धशतक पारी खेले । उनले सर्वाधिक ५४ रनमा अविजित रहे । त्यस्तै, मिचेल मार्शले ४५ रन जोड्दा मार्कुस स्टोईनिस र डेभिड वार्नरले समान २५/२५ रन बनाए ।

बलिङतर्फ अफगानिस्तानका लागि नभिन उल हकले ३ विकेट लिए । त्यस्तै, फजलहक फारुकीले २ विकेट लिए भने मुजीबउर रहमान र राशिद खानले एकएक विकेट लिए । 

यो जितसँगै सुपर १२ को समूह ए मा रहेको अष्ट्रेलियाले सेमिफाइनलमा पुग्ने सम्भावनालाई जिवितै राखेको छ । अष्ट्रेलिया ५ खेलमा ७ अंक जोडेर समूहको दोस्रो स्थानमा उक्लिएको छ । ५ अंकसहित समूहको तेस्रो स्थानमा रहेको इंग्ल्यान्डले शनिबार श्रीलंकासँग खेल्नेछ । उक्त खेलमा इंग्ल्यान्ड विजयी हुँदा नेट रनरेटका आधारमा साविक विजेतासमेत रहेको अष्ट्रेलिया स्वतः बाहिरिने छ । 

समूहकै शिर्ष स्थानमा रहेको न्युजिल्यान्ड भने सेमिफाइनलमा पुगेको छ । न्युजिल्यान्ड ५ खेलमा ७ अंकका साथ सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको हो । शुक्रबार नै भएको अन्तिम  खेलमा न्युजिल्यान्डले आयरल्याण्डलाई ३५ रनले हराएको थियो । 

Logo