पाकिस्तान आइसिसी टि२० विश्वकपमा सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा बंगलादेशमाथि ५ विकेटको जित निकाल्दै पाकिस्तानले अन्तिम चारमा स्थान पक्का गरेको हो । आइतबार नै दक्षिण अफ्रिकाले नेदरल्याडसँग अप्रत्याशित हार व्यहोरेसँगै पाकिस्तानको सेमिफाइनलका लागि ढोका खुला भएको हो ।
बंगलादेश दिएको १२८ रनको मध्यम लक्ष्य पछ्याएको पाकिस्तानले ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो । पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ३२ रन जोडे । त्यस्तै, मोहम्मद हरिसले ३१ रन, कप्तान बाबर अजामले २५ रन तथा शान मसुदले २४ रन बनाए ।
बलिङतर्फ बंगलादेशका नासुम अहमद, सकिब अल हसन, मुश्ताफिजुर रहमान र एबादोत हसनले एकएक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रन बनाएको थियो । बंगलादेशका ओपनर नाज्मुल हसन शान्टोले सर्वाधिक ५४ रन जोडे । त्यस्तै, सौम्य सरकार २० रनमा क्याच आउट हुँदा अफिफ हुसैन २४ रनमा अविजित रहे ।
बलिङतर्फ पाकिस्तानका शाहिन शाह अफ्रिदीले सर्वाधिक ४ विकेट लिए । त्यस्तै, शादब खानले २ विकेट लिए भने हरिस रौफ र इफ्तिखार अहमदले एकएक विकेट लिए ।
सुपर १२ को समूह बी मा रहेको पाकिस्तानले ५ खेलमा ६ अंक जोडेको छ । दक्षिण अफ्रिका भने ५ खेलमा ५ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरियो । एक खेल कम खेलेको भारत भने दक्षिण अफ्रिकाको हारसँगै सेमिफाइनलमा पुगिसकेको छ । उसले ४ खेलबाटै ६ अंक जोडिसकेको छ । समूह विजेताका लागि आजै जिम्बावेको सामना गर्दै छ ।
सुपर १२ को समूह ए बाट न्युजिल्यान्ड शीर्ष र इंग्ल्यान्ड दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगिसकेका छन् ।





























प्रतिक्रिया