बलियो ब्राजिल विरुद्ध भाग्यमानी दक्षिण कोरिया [भिडियोसहित]

बलियो ब्राजिल विरुद्ध भाग्यमानी दक्षिण कोरिया [भिडियोसहित]

केन्द्रबिन्दु
0
Shares

फिफा विश्वकपमा आज (सोमबार) विश्वकपकै सर्वाधिक सफल टोली ब्राजिलले एसियाली ‘पावर हाउस’ दक्षिण कोरियाविरुद्ध नेपाली समय अनुसार मध्यरात १२ः४५ मा कतारी रंगशाला रस अबु अवोदमा उत्रनेछ । फुटबल विश्वकपमा एसियाबाट सबैभन्दा राम्रो प्रदर्शन गर्ने टोली बनेको छ दक्षिण कोरिया । सन् २००२ मा जापानसँग मिलेर संयुक्त रुपमा विश्वकप आयोजना गर्दा कोरियाले सनसनी मच्चाउँदै सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । दक्षिण कोरिया सन् १९५४ मा पहिलो पटक विश्वकपमा सहभागी भएको थियो । त्यसपछि लगातार ७ विश्वकपमा सहभागिता जनाउन नसकेको कोरिया जारी प्रतियोगितामा १० औं पटक सहभागिता जनाइरहेको छ ।

यस्तै ५ पटकको विश्व बिजेता ब्राजिल सबै विश्वकपमा सहभागिता जनाउने एक मात्र टोली हो । ब्राजिलले ७ पटक फाइनलको यात्रा तय गर्दा ५ पटक विश्वकपको उपाधि जितेको छ । ब्राजिलभन्दा एक कम अर्थात ४ पटक इटली र जर्मनीले सो उपाधि जितेका छन् । 

ब्राजिल जारी प्रतियोगिताको समूह जी मा शीर्ष स्थानमा रहँदा कोरिया भने समूह एच को उपविजेता हुँदै नकआउट चरणमा प्रवेश गरेको थियो । विश्वकप फुटबलमा यी दुई टोली पहिलो पटक भिड्दै छन् । यसअघिका ७ मैत्रीपूर्ण खेलमा ब्राजिलकै दबदबा देखिएको छ । ७ महिनाअघि भएको यी दुईको भेटमा पनि ब्राजिलले कोरियालाई ५–१ ले पराजित गरेको थियो ।

 त्यसअघिका ६ भेटमा ब्राजिल ५ पटक विजयी हुँदा कोरियाले एक पटक मात्रै आफ्नो पक्षमा नतिजा निकालेको थियो । सो खेल पनि २३ वर्षअघि अर्थात सन् १९९९ मा भएको थियो । सो खेलमा कोरिया १–० गोलले ब्राजिललाई पराजित गर्न सफल भएको थियो । त्यसपछिका सम्पूर्ण खेलहरु ब्राजिलले लगातार जित्दै आएको छ । ब्राजिल अन्तिम १६ बाट दुई पटक मात्र बाहिरिएको छ । यस्तो संयोग सन् १९३४ र १९९० मा भएको थियो ।

जारी प्रतियोगितामा दक्षिण कोरियाले समूह चरणका तीन खेलमध्ये एकमा जित, एकमा बराबर र एक खेलमा हार बेहोरेको थियो । यता, ब्राजिल भने समूह चरणको अन्तिम खेलमा क्यामरुनसँग १–० ले पराजित भएपनि समूहमा शीर्ष रहँदै नकआउट चरण पुगेको हो । समूह चरणका खेलमा देखाएको प्रदर्शन र क्षमताका कारण चर्चामा रहेको दक्षिण कोरियाले पाँच पटक विश्वकपको उपाधि उचालेको ब्राजिललाई बलियो चुनौती प्रस्तुत गर्ने धेरैको अनुमान छ । 

दक्षिण कोरियाविरुद्ध ब्राजिलका प्रमुख खेलाडी नेयमार टिममा फर्किने प्रशिक्षक टिटेले पुष्टि गरिसकेका छन् । यद्यपि, उनी दक्षिण कोरियाविरुद्ध पहिलो रोजाइमा रहने वा नरहने बारे भने अझै निश्चित भइसकेको छैन । नेइमारले चोटका कारण समूह चरणका दुई खेल गुमाएका थिए । यस्तै, सर्वियाविरुद्धको खेलका दौरान खुट्टाको जोर्नीमा चोट लागेपछि समूह चरणका दुई खेल गुमाएका ड्यानिलो पनि ब्राजिलको टिममा फर्किएका छन् ।

ब्राजिलले पछिल्ला ७ विश्वकपमा अन्तिम–१६ का खेलमा हार बेहोरेको छैन । प्रि–क्वार्टरफाइनलका सात खेलमा ब्राजिलले अहिलेसम्म दुई गोलमात्र बेहोरेको छ । अर्कोतर्फ १० पटक विश्वकप खेलिसकेको दक्षिण कोरिया भने एक पटकमात्र क्वार्टरफाइनल पुगेको छ । सन् २००२ को सह–आयोजक बन्दा दक्षिण कोरिया विश्वकपको सेमिफाइनल पुगेको थियो । कागजमा जति नै बलियो देखिएता पनि खेल…मैदानमै हुने भएकाले यी दुई टोलीमध्ये जसले आज आफ्नो खेलमा पूर्ण क्षमताका साथ प्रतिस्पर्धा गर्छ उ माथिल्लो चरण प्रवेश गर्नेछ ।

 

Logo