नेपाल आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा जितविहीन बनेको छ । बिहीबार भएको सिरिजको चौथो तथा अन्तिम खेलमा स्कटल्याण्डसँग ८ विकेटले पराजित भएसँगै नेपाल जितविहीन बनेको हो ।
नेपालले दिएको १२० रनको विजयी लक्ष्य स्कटल्याण्डले १७ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो । क्रिस्टोफर म्याकब्राइड ४६ रनमा अविजित रहे भने जर्ज मुन्सेले ४५ रन जाेडे ।
त्यसअघि नामिबियाको युनाइटेड क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गर्दै नेपालले ३५ दशमलव तीन ओभरमा सवै विकेट गुमाउँदै ११९ रन मात्र बनाएकाे थियो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४७ रनको योगदान दिए । उनले ५७ बल खेल्दै दुई छक्का र चार चौका प्रहार गरे । त्यसैगरी सोमपाल कामीले १६, ललित राजवंशीले ११ तथा दीपेन्द्रसिंह ऐरीले १४ रन बनाए । ज्ञानेन्द्र मल्लले नौ रन जोड्दा आरिफ शेखले छ तथा गुल्सन झाले पाँच रन बनाए । त्यस्तै आरिफ शेख एक रनमा आउट भए ।
बलिङतर्फ स्कटल्याण्डका ब्रान्डोन म्याकमुलेन, सफियान सारिफ र मार्क वाटले समान दुई/दुई विकेट झारे । त्यस्तै कृस सोले, क्रिस्टोफर म्याकब्राइड र क्रिस ग्रेभ्सले समान एक/एक विकेट लिए ।
नामिवियासँगको पहिलो खेल वर्षाका कारण रद्व हुँदा नेपालले अंक बाँडेको थियो । त्यसपछि दोस्रो खेलमा स्कटल्यान्डसँग र तेस्रो खेलमा नामिवियासँग पराजित हुन पुग्यो । नेपाल २३ खेलमा १८अंकका साथ छैठौं स्थानमा रहेको छ । यता स्कटल्याण्ड भने ३१ खेलमा ४४ अंक जोडेर शिर्षस्थानमा रहेको छ ।































प्रतिक्रिया