नेपाल टी–२० लिगमा लुम्बिनी अलस्टार्सले लगातार दोस्रो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगर सुपर किङ्समाथि लुम्बिनीले ३ रनको जित निकालेको हो ।
१५८ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रनमै समेटिएको हो । विराटनगरका लागि हुसैन तालतले सर्वाधिक ३९ रन जोडे । साथै रोहितकुमार पौडेलले २५ रन, प्रिथु बास्कोटाले १८ रन, सिकन्दर राजाले १७ रन तथा कप्तान आन्द्रे एमसीकार्थीले ११ रन जोड्नुबाहेक अन्य खेलाडी क्रिजमा टिक्न सकेनन् ।
बलिङतर्फ लुम्बिनीका लागि किशोर महतोले २ विकेट लिए । सागर ढकाल, गुलसन झा, दिपेन्द्र सिहं ऐरी र प्याट ब्रोनले समान १/१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५७ रन जोडेको थियाे । लुम्बिनीका ओपनर मिलान्थाले अविजित ८० रनको उत्कृष्ट इनिङ खेले । उनको यो लिगमा लगातार दोस्रो अर्धशतक हो । साथै कुशल भुर्तेलले २६ रन, कप्तान दीपेन्द्रसिंह ऐरी १६ रन जोडेर पेभेलियन फर्किएका थिए भने बिपुल शर्माले ११ रन जोडे ।
बलिङतर्फ विराटनगरका कप्तान आन्द्रे माकर्थी, सिकन्दर राजा, शाहब अलाम र हुसन टलतले समान एक विकेट लिए ।
लगातार दोस्रो खेलमा जित हात पारेको लुम्बिनी ४ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । लुम्बिनीले पहिलो खेलमा फार वेस्टर्न युनाईटेडलाई सहज रुपमा पराजित गरेको थियो । विराटनगर भने पहिलो खेलमै परािजत भएको छ ।
प्रतिक्रिया