विश्वप्रख्यात फुटबलर पेलेको निधन

विश्वप्रख्यात फुटबलर पेलेको निधन

केन्द्रबिन्दु
0
Shares

ब्राजिलका विश्वप्रख्यात महान फुटबलर पेले (एड्सन आरान्तेस दो नासिमेन्तो) को निधन भएको छ ।

८२ वर्षीय पेलेको उपचारका क्रममा साओ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा बिहीबार राति निधन भएको हो । मृगौला र प्रोस्टेट रोगबाट ग्रसित पेले उपचारका लागि एक महिनाअघि अस्पताल भर्ना भएका थिए । अस्पतालमा उपचारकै क्रममा पेलेको मृत्यु भएको उनको परिवार र आफन्तले जनाएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उल्लेख गरेको छ ।

ब्राजिललाई लगातार तीन पटक फिफा विश्वकप उपाधि दिलाउन पेलेको महत्वपूर्ण योगदान रहेको छ । लगातार तीन पटक विश्वकप उपाधि जित्ने पेलेको नाममा दुर्लभ कीर्तिमान छ । पेले प्रेरित ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेको थियो । पेलेले आफ्नो २१ वर्षे खेल जीवनमा १ हजार ३६३ खेल खेल्दै १ हजार २८१ गोल गरेका छन् । उनले ब्राजिलको लागि ९२ खेल खेल्दै ७७ गोल गरेका छन् । फुटबलमा अद्भूत क्षमता भएका पेलेलाई सन् २००० मा फिफा प्लेयर अफ दि सेन्चुरी घोषणा गरिएको थियो ।

ब्राजिलका खेलमन्त्री समेत भएर खेलाडीको हितमा काम गरेका पेलेलाई विवादमा कहिले नआएका अनुशासित खेलाडीका रुपमा पनि विश्वले चिन्ने गरेको छ । एक गरिब परिवारमा जन्मिएर महान फुटबल खेलाडी बन्न सफल पेलेले बाल्यकालमा थोत्रो मोजामा कागज कोचेर खेल्दै फुटबल सिकेका थिए । पेलेको निधनप्रति विश्वकै चर्चित खेलाडीहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् । 

Logo