नेपाल टी–ट्वान्टी लिगः आज दुई खेल हुदै

नेपाल टी–ट्वान्टी लिगः आज दुई खेल हुदै

केन्द्रबिन्दु
0
Shares

राजधानीमा जारी नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा शुक्रबार पनि दुई खेलहरु हुँदैछन् ।

शुक्रबारको पहिलो तथा प्रतियोगिताको तेह्रौं खेलमा लुम्बिनी अल स्टार र काठमाडौं नाईट्सबिच प्रतिस्पर्धा हुदैछ । खेल त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ । चार खेलमा अपराजित लुम्बिनी पाँचौ जित निकाल्न चाहान्छ । लुम्बिनी ४ खेलमा ८ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । तीन खेलमा दुई जित हात पारेको काठमाडौं तेस्रो जितको खोजीमा रहेको छ । काठमाडौं ३ खेलमा ४ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । 

आज नै हुने दोस्रो खेलमा फार वेस्ट युनाईटेड र पोखरा एभेन्जर्सबिच खेल हुदैछ । खेल दिउसो १ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ।  पाँच खेल खेलेर अंक विहीन पोखरा पहिलो जितको खोजीमा रहेको छ । पोखरा ५ खेलमा अंक विहीन रहेर अंक तालिकाको पुछारमा रहेको छ । चार खेल खेलेर १ जित हात पारेको फार वेस्ट पाँचौ खेलमा दोस्रो जितको खोजीमा रहेको छ । फार वेस्ट ४ खेलमा २ अंकका साथ अंक तालिकाको पाँचौं स्थानमा रहेको छ । 

प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ । डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।

त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । यस लिगमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्ट युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।

Logo