लगातार पाचौं जितसहित लुम्बिनी शीर्ष स्थानमा

लगातार पाचौं जितसहित लुम्बिनी शीर्ष स्थानमा

केन्द्रबिन्दु
0
Shares

राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा लुम्बिनी अलस्टार्सले काठमाडौं नाईट्सलाई पराजित गर्दै लगातार पाचौं जित हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो खेलमा लुम्बिनीले काठमाडौंलाई ३५ रनले पराजित गरेको हो । लुम्बिनीले दिएको १५१ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन मात्र जोड्यो । काठमाडौंका लागि अज्मतुल्लाह ओमारजाईले सर्वाधिक ३८, सुमन गौतमले १८, एलेक्स ब्लेकले ११ र वसिर अहमदले १० रन जोड्दा कमल ऐरी १९ रनमा अविजित रहे ।

लुम्बिनीको जितमा उत्कृष्ट बलिङ गर्दै हर्मितसिंहले ४ ओभरमा १ मेडन राख्दै ७ रन खर्चिएर तीन विकेट लिए । किसोर महत्तो, सेड्ली भान स्केल्कवेक, तिलक भण्डारी र ह्यारि टेकटरले समान एक–एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५० रन जोडेको थियो । लुम्बिनीका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४०, लाहिरु मिलन्था २५, कुशल भुर्तेलले १९, अनिल शाह १३ हर्मितसिंहले १२ जोड्दा  सेड्ली भान स्केल्कवेक २१ रनमा अविजित रहे ।

अपराजित लुम्बिनी ५ खेलमा १० अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । चार खेलमा दुई जित हात पारेको काठमाडौं ४ खेलमा ४ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।

यस्तै, आज नै हुने दोस्रो खेलमा फार वेस्ट युनाईटेड र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा हुदैछ ।   
 

Logo