विराटनगरलाई हराउँदै लुम्बिनी प्लेअफमा

विराटनगरलाई हराउँदै लुम्बिनी प्लेअफमा

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी अल स्टार्स नेपाल टि२० लिगको प्लेअफमा पुगेको छ । आइतबार विराटनगर सुपर किंग्सलाई १२ रनले पराजित गर्दै लुम्बिनीले अन्तिम चारमा स्थान पक्का गरेको हो । 

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले जितको लागि दिएको १२३ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा अलआउट हुँदै ११० रनमै समेटिएको हो । विराटनगरका लागि अर्जुन साउदले सर्वाधिक ४१ रन तथा विवेक यादवले १९ रन जोड्नुबाहेक अन्य खेलाडी क्रिजमा टिक्न सकेनन् ।  

बलिङतर्फ लुम्बिनीका तिलकराज भण्डारी, ह्यारी टेक्टर र साड्ली भान स्केलक्किकले समान २/२ विकेट लिए । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो । लुम्बिनीका कप्तान दीपेन्द्रसिंह ऐरी सर्वाधिक ५० रनमा अविजित रहे । साथै कुशल भुर्तेल, ह्यारी टेक्टर र अनिल शाहले समान १३/१३ रन जोडे । 

बलिङतर्फ विराटनगरका नन्दन यादव, सूर्य तामाङ र विवेक यादवले समान २/२ विकेट लिए ।  

जितसँगै लुम्बिनी जारी प्रतियोगिताको प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । लुम्बिनी ७ खेलमा ६ मा जित र १ मा हारसहित १२ अंकका साथ शीर्ष स्थानमा छ । विराटनगर ६ खेलमा २ मा जित र ४ मा हारसहित ४ अंकका साथ पाँचौं स्थानमा छ । 

Logo