नेपाल टी–२० लिगमा सट्टेबाजी र फिक्सिङको चर्चा चलेपछि सीआईबीले अनुसन्धान सुरु गर्‍यो

नेपाल टी–२० लिगमा सट्टेबाजी र फिक्सिङको चर्चा चलेपछि सीआईबीले अनुसन्धान सुरु गर्‍यो

केन्द्रबिन्दु
0
Shares

राजधानीमा जारी नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा सट्टेबाजी र फिक्सिङको चर्चा चलेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

गृह मन्त्रालयको निर्देशनपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान सुरु गरेको हो । सीआईबी प्रमुख एआईजी उत्तमराज सुवेदीले अनुसन्धान प्रभावकारी ढङ्गबाट अगाडी बढाइएको जानकारी दिए । उनले भने,“सट्टेबाजी र फिक्सिङमा सुरुवातदेखि नै हाम्रो चासो हो । सीआईबीले मैदानमै रहेर यसबारे निगरानी पनि गरिरहेकै हो । गृहबाटै निर्देशन आइसकेपछि हामी सुक्ष्म रुपमा अनुसन्धानमा सक्रिय भएका छौं ।”

हालसम्म प्रहरीलाई म्याच फिक्सिङको कुनै प्रमाण भने हात लागेको छैन । टीयु मैदानबाटै सट्टेबाजी आरोपमा भने केही पक्राउ पर्दै आएका छन् । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले नेपाल टी–२० लिगमा फिक्सिङको प्रस्ताव आएको बताएका थिए । उनले यसबारे सम्बन्धित निकायलाई जानकारी समेत गराइसकेको बताएका थिए । मंगलबारको खेलपछि काठमाडौं नाइट्सका कप्तान समेत रहेका मल्लले आफ्ना टिमका खेलाडीलाई फिक्सिङका लागि प्रस्ताव आएको खुलासा गरेका थिए । उनले भनेका थिए, “अरू टिमको कुरा थाहा भएन । हाम्रो टिमको एकजना खेलाडीलाई चाहिँ एप्रोच गरेको थियो । नियमअनुसार हामीले एसईयु (एन्टी करप्सन युनिट)लाई जानकारी गराएर अनुसन्धान भइरहेको छ ।”

यसबाहेक अन्य केहीले पनि फिक्सिङको प्रसंग उठाएका छन् । मंगलबार नै नेपाल टी–ट्वान्टी लिगका कमेन्टेटर सचिन तिमिल्सेनाले लिगमा फिक्सिङ भएको आरोप लगाएका थिए। सचिनले लिगमा हुने फिक्सिङले खेलको नतिजामा असर नपर्ने भए पनि खेलको बीचमा हुने क्रियाकलापमा असर पर्ने गरी फिक्सिङ भइरहेको बताए । उनले कप्तानको छनोटदेखि खेलाडीको प्रर्दशनसम्म आशंका गर्ने धेरै ठाउँ रहेको उल्लेख गर्दै टिम म्यानेजरहरुको भुमिका समेत बदनियतपूर्ण देखिएको बताएका छन् ।

उनले घटनाबारे क्यान, एन्टिकरप्सन अफिसरदेखि विभिन्न निकायलाई बताएपनि कुनै पहल नभएको गुनासो गरेका छन् । यसअघि सीआईबीकै टोलीले नेपाल र युएइको खेल भइरहेको बेला सट्टेबाजीमा संलग्न आरोपमा ५० जनालाई पक्राउ गरेको थियो । 

Logo