श्रीलंकाद्वारा भारत १६ रनले पराजित

श्रीलंकाद्वारा भारत १६ रनले पराजित

केन्द्रबिन्दु
0
Shares

श्रीलंकाले दोस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली भारतलाई पराजित गरेको छ।

बिहीबार राति सम्पन्न खेलमा पाहुना टोली श्रीलंकाले भारतलाई १६ रनले हराउँदै तीन खेलको सिरिजमा १–१ को बराबरी गरेको छ। भारतमा घरेलु टोलीविरुद्ध श्रीलंकाले २०१६ पछि टी–२० खेल जितेको हो ।  भारतले एक खेल अगावै सिरिज जित्ने मौका गुमाएको छ । दोस्रो खेलमा श्रीलंकाले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९० रन बनायो ।

भारतका अक्षर पटेलले ६५ रन तथा सूर्यकुमार यादवले ५१ रनको अर्धशतक बनाए पनि टोलीलाई जिताउन सकेनन् । टी–२० अन्तर्राष्ट्रिय खेलमा पटेलको करिअरको पहिलो अर्धशतक समेत हो । यस्तै, शिवम माभीले १५ बलमा २ चौका र २ छक्कासहित २६ तथा कप्तान हार्दिक पाण्ड्याले १२ रन बनाउनु बाहेक अन्यले सम्झन लायक प्रदर्शन गरेनन्। ओपनर ईशान किशनले दुई रन बनाउँदा अर्का ओपनर शुभमन गिलले ५ रन जोडे। यस्तै, डेब्यू खेल खेलेका राहुल त्रिपाठीले पाँच रन जोड्दा दीपक हुडा ९ रनमा आउट भए।

श्रीलंकाका दासुन शानका, कसुन रजिथा र दिलशान मदुशनकाले समान २–२ विकेट लिए। चामिका करुणारत्ने र वानिन्दु हसरंगाले एक–एक विकेट हात पारे। त्यसअघि पुणेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रन बनाएको थियो। श्रीलंकाका लागि कप्तान दासुन शानका २२ बलमा २ चौका र ६ छक्कासहित ५६ रनमा अविजित रहे। यस्तै, ओपनर कुशल मेन्डिसले ३१ बलमा ३ चौका र ४ छक्कासहित ५२ रन बनाउँदा अर्का ओपनर पाथुम निसांकाले ३५ बलमा ३३ रन जोडे। चरिथ असलंकाले ३७ रन बनाउँदा भानुका राजपक्षे २ रनमै आउट भए। धनन्जय डि सिल्भा ३, वानिन्दु हसरंगा शून्य र चामिका करुणारत्नेले ११ रन बनाए।

भारतका लागि उमरान मलिकले ३ विकेट लिए। अक्षर पटेलले २ तथा युजभेन्द्र चहलले एक विकेट हात पारे। यसअघि पहिलो खेलमा भारत दुई रनले विजयी भएको थियो। तेस्रो तथा निर्णायक टी–२० खेल शनिबार राजकोटमा हुनेछ।

Logo