नाबालिगमाथि बलात्कार आरोपित सन्दीप लामिछाने धरौटी तिरेर जेलबाट छुटेसँगै नेपाल क्रिकेट संघ (क्यान) छलफलमा जुटेको छ ।
गत भदौ ५ गते १७ वर्षीय किशोरीलाई होटल काठमाडौं इनमा बलात्कार गरेको आरोपमा असोज २० गते पक्राउ परेसँगै सन्दीपलाई क्यानले राष्ट्रिय टिमबाट निलम्बन गर्नुका साथै कप्तानबाट पनि हटाएको थियो । तर, आज उनी उच्च अदालत पाटनको आदेशमा २० लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त भएका छन् ।
सन्दीप थुनामुक्त भएसँगै क्यानले उनको निलम्बन फुकुवाबारे निर्णय गर्न कानून व्यवसायीहरुसँग छलफल गर्ने भएको हो । खस्कँदो नेपाली क्रिकेटको विकासका लागि सन्दीपलाई टिममा फर्काउनेबारे नेपाली कानून व्यवसायी, अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)सँग छलफल जारी रहेको बताइएको छ । उनीहरुको सुझावपछि क्यानले निर्णय गर्ने छ ।
तर, सन्दीपसँग भने अदालतले कडा सर्त राखेको छ । उनलाई मुद्दाको किनारा नलागुञ्जेल विदेश जान नपाउने, त्यस अवधिसम्म उनको राहदानी पनि रोक्का राख्ने, आफूखुसी काठमाडौं उपत्यका छाड्न पनि नपाउने, जानुपरे जिल्ला प्रहरी परिसर काठमाडौंबाट अनुमति लिनुपर्ने, पीडित वा उनको परिवारका सम्बन्धमा विद्युतीय वा सामाजिक सञ्जालबाट कुनै सामग्री प्रकाशन गर्न नपाउने पीडित र पीडितको परिवारसँग सम्पर्क वा भेट गर्न पनि बन्देज, पीडित वा उनको परिवारलाई डर, त्रास, धम्की, दबाब र प्रभाव दिने कुनै कार्य गर्न नपाउने, आदेश पालना भए–नभएको जाँचबुझ गर्ने अधिकार नेपाल प्रहरीलाई, सर्त उल्लंघन गरे धरौटीमा रिहा गर्ने आदेश स्वतः निष्क्रिय भएको मानिने अदालतले जनाएकाे छ ।





























प्रतिक्रिया